को हुन विराटनगरका नव-निर्वाचित मेयर नागेश कोईराला ?

को हुन विराटनगरका नव-निर्वाचित मेयर नागेश कोईराला ?

विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नागेश कोइराला निर्वाचित भएका छन् ।

आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का सागर थापालाई ८ हजार ७१५ मतान्तरले पराजित गर्दै कोईराला विराटनगरको मेयरमा निर्वाचित भएका हुन् । एमाले उम्मेदवार थापाले २१ हजार ४५५ मत ल्याउँदा कोईरालाले ३० हजार बढी मत प्राप्त गरेका हुन् । विराटनगरमा कुल ८९७८९ मत खस्दा कोईरालाले मतगणनाको सुरुवातदेखि नै अग्रता कायम गर्दै आएका थिए ।

तरुणदलदेखि मेयरसम्मको नागेशको यात्रा

विराटनगर महानगरपालिको मेयरमा निर्वाचित भएका नागेश कोइराला राजनीतिक परिवारका सदस्य हुन् । उनको जन्म २०३० असार ३१ गते भएको हो । उनी ऋषिकेश कोइरालाका नाति उमेश कोइरालाका छोरा हुन् ।

बीपी र गिरिजाप्रसाद कोईराला परिवारभित्रैकै नभए पनि उनीहरु १० दिने दाजुभाई हुन् । नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइराला र नागेश बिच काका–भतिजको सम्बन्ध छ ।

यति मात्र होइन, कोईराला परिवारका सदस्य तथा नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाबिच ससुराली साइनो समेत छ । उनी अस्ट्रेलियामा पढेर नेपाल फर्किएका हुन् । नेपाली काँग्रेसको भातृ सङ्गठन तरुण दलको कोषाध्यक्ष भएपछि उनी सक्रिय राजनीतिमा आएका हुन् ।

तरुण दलपछि उनी नेपाली कांग्रेसको जिल्ला सचिव भए । अहिले उनी मोरङ कांग्रेसका उप-सभापति पदको जिम्मेवारीमा छन् । काँग्रेसबाट कसलाई उम्मेदवार बनाउने विषयमा लामो विवाद भएको थियो । विवादबिच शेखरले सभापति शेरबहादुर देउवासँग कुनै हालतमा नागेशले टिकट पाउनु पर्ने अड्डी कसेका थिए । शेखरकै अड्डीबीच डिला संग्रौला र अमृत अर्याल सहितका चर्चित नेताहरुलाई पछि पार्दै नागेश मेयरको दौडमा निस्किएका हुन् ।

विराटगरको विकासमा ध्यान दिनेछु

विराटनगर महानगरपालिको मेयरमा विजयी भएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नागेश कोइरालाले विराटनगरबासीले चाहेजस्तो विकासको काम गरेर अगाडी बढने बताएका छन् । शिक्षा, स्वास्थ्य र सरसफाई आफ्नो प्रमुख प्राथमिकतामा रहने उनले जानकारी दिए । जारी घोषणापत्र अनुसार काम गरेर देखाउने उनले प्रतिबद्धता व्यक्त गरे ।

मेयर पदमा निर्वाचित भएपछि उनले सबैलाई करको दायरामा ल्याउँदै समय सापेक्ष कर निर्धारण गर्ने बताए । ‘व्यापार व्यवसायमा अहिले बढेको कर घटाउनेछु,’ उनले भने, ‘करको दायरा बढानउेछु ।’

‘नगरबासीहरूको हकहितको लागि विशेष काम गर्छु । बालबालिकाको लागि विभिन्न कार्यक्रम र बेरोजगार युवाहरूको लागि क्षमताको आधारमा कार्यक्रम ल्याउँछु, ’ उनले भने, ‘विराटनगरलाई सफा, सुन्दर र सुरक्षित सहर बनाउनेछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्