सीप सिकेकी शिल्पा, विराटनगरमा गठबन्धनको गडबडीले चम्काएको भाग्य

सीप सिकेकी शिल्पा, विराटनगरमा गठबन्धनको गडबडीले चम्काएको भाग्य

विराटनगर । हुन त एक्काएक्लै निर्वाचनमा होमिने स्थिति आएको भए विराटनगरमा नेकपा एमालेले आफ्नो उपस्थिति राम्रै देखाउने देखियो । पाँच दलीय गठबन्धन एकातिर र अर्को मोर्चामा एक्लै उभिएको एमाले विराटनगरमा कमजोर देखिएन । तर, यो निर्वाचनमा एमालेबाट उपप्रमुखमा उमेदवारी दिएकी शिल्पा निराला कार्कीलाई गठबन्धनकै गडबडीले बढी साथ दियो ।

जसको मुख्य कारण थियो, जनता समाजवादी पार्टी भित्रको उमेदवार चयनमा देखिएको विद्रोह । पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले आफ्नै छोरा अमरेन्द्रलाई उपप्रमुखको उमेदवार बनाउने चाहना राखपछि नेता उमेश यादव र बसुन्धरा झाले पार्टी विरुद्ध विद्रोह गर्नुदेखि जसपाको भागमा परेको उपप्रमुखमा काँग्रेस कार्यकर्तालाई भोट हाल्न हात नलाग्नुले शिल्पालाई सहज बनाईदियो ।
गठबन्धनमा बलियो उमेदवार मानिएका अमरेन्द्र विरुद्ध गडबडी गरियो । उनले पाउनु पर्ने मत रुखमै हालेर काँग्रेस कार्यकर्ताले शिल्पालाई बाटो खुल्ला गरिदिए । त्यस बाहेक शिल्पालाई मन पराएर भोट हाल्ने काँग्रेसको संख्या समेत उतिकै देखियो ।

शिल्पा विराटनगरमा सामाजिक अभियन्ता, उद्यम र राजनीतिमा सक्रिय महिलाको रुपमा स्थापीत थिइन् नै । उनी व्यवसायमा मात्रै नभई राजनीतिक भाषणमा समेत छोटो कुरा गरेर धेरैलाई प्रभावमा पार्न सीपालु देखिइन् ।
विद्यालय तहको अध्ययन लहानमै गरेकी शिल्पाले कोशी क्याम्पसबाट प्लस टु, महेन्द्र मोरङ क्याम्पस विराटनगरबाट स्नातक र स्नातकोत्तर क्याम्पस विराटनगरबाट स्नातकोत्तर गरकी छिन् । त्यस बाहेक घरेलु तथा साना उद्योग महासंघ, लायन्स क्लव, लोटरी क्लव, योगमाया फाउन्डेशन, जनपथ मा.वि. व्यवस्थापन समिति, उद्योग संगठन मोरङ, कोशी अस्पताल विराटनगरमा विभिन्न लाभविहीन पद सम्हाल्लेर आएको अनुभव थियो ।

ती सबै अनुभवसँगै पार्टीले बनाएको उमेदवारीले उनलाई थप निखारिदियो । विराटनगर महानगरमा १ लाख ३३ हजार १४२ मतदाताका बीचमा उभिएकी उनले खसेको ८९ हजार ७८९ मध्ये २५ हजार ६८० मत प्राप्त गरी विजयी भईन् । गठबन्धनका उमेदवार जसपाका महानगर अध्यक्ष अमरेन्द्र यादवले १४ हजार २१९ मात्रै मत प्राप्त गरे । जुन मतले शिल्पालाई सहयोग गरिदियो ।

विराटनगरमा प्रमुखका उमेदवार सागर थापाले पराजय भोगेपनि एमालेले उपप्रमुख र वडामा बलियो आधार तयार पार्न सफल भयो ।
परिणामअनुसार महानगरका १९ वटा वडामध्ये सबैभन्दा बढी एमालेका भागमा ९ वटा परेको छ । एमालेले १, २, ३, ४, ८, १०, ११, १४ र १९ नम्बर वडामा वडाध्यक्ष पाएको छ । नौजना वडाअध्यक्षको बलमा महानगरको उपमेयर हुने अवसरले शिल्पालाई थप सशक्त भएर उभिने आँट दिइएको छ ।

महानगरमा प्रमुखसहित नेपाली काङ्ग्रेसबाट ६ वटा वडामाको नेतृत्व चुनिएको छ । विराटनगरका ५, ६, ७, ९, १५ र १६ वडामा काँग्रेसका अध्यक्ष जितेका हुन् । महानगरको वडा नम्बर १२ र १७ मा जसपा, १३ मा राप्रपा र १८ मा स्वतन्त्रका वडाध्यक्षले जितेका छन् । जसपा काँग्रेसका कारणले महानगरमा खुम्चिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्