विराटनगर । मोरङको कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरी र उपाध्यक्ष सीतादेवी राजवंशीले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणपछि अध्यक्ष चौधरीले कटहरी गाउँपालिका ६ मा रहेको बर्थिङ सेन्टरमा ल्याब संचालन गर्ने निर्णय गरेका छन् । साउन १ गते बर्थिङ सेन्टरमा ल्याब संचालन गर्ने निर्णायमा अध्यक्ष चौधरीले हस्ताक्षर गरेका हुन् ।
पदभार ग्रहणपछि अध्यक्ष चौधरीले अन्य राजनीतिक दलहरूको सुझाव र सल्लाहलाई लिएर जनताको मन जित्ने गरी कटहरीको विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गरे । उनले निर्वाचनको समयमा मतदाताको घर दैलोमा जाँदा गरेका बाचा र योजनाहरू आफ्ना प्रमुख एजेण्डा रहेको उल्लेख गर्दै कटहरीको भूमिहीन सुकुम्बासीहरूको समस्यालाई समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
अध्यक्षमा चौधरी नेपाली कांग्रेस र उपाध्यक्ष राजवंशी नेकपा एमालेबाट निर्वाचित भएका हुन् । चौधरीले ६ हजार ५ सय ६५ र राजवंशीले ५ हजार ८ सय ४८ मत ल्याएर उपाध्यक्षमा विजयी भएका छन् । अध्यक्ष चौधरीलाई मोरङ अदालतका न्यायाधीश भरत लम्सालले सपथ गराएपछि उनले उपाध्यक्ष, वडाअध्यक्ष र सदस्यहरुलाई कटहरी गाउँपालिका भवनमा सपथ खुवाएका थिए ।