ज्येष्ठ नागरिक भवन बनाउन व्यक्तिगत एकलाख दिने मेयरको घोषणा

ज्येष्ठ नागरिक भवन बनाउन व्यक्तिगत एकलाख दिने मेयरको घोषणा

विराटनगर । विराटनगर महानगरपालिकाका नवनिर्वाचित मेयर नागेश कोइरालाले ज्येष्ठ नागरिक भवन बनाउन व्यक्तिगत एकलाख रुपैँया दिने घोषणा गरेका छन् । विराटनगर–११ स्थित ज्येष्ठ नागरिक वडा कार्य समितिले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले भवनका लागि एकलाख रुपैँया दिने घोषणा गरेका हुन्।

मेयर कोइरालाले ज्येष्ठ नागरिकको अनुभव र ज्ञानको भण्डार हुने बताए । हरेक क्षेत्रले ज्येष्ठ नागरिकका अनुभव र ज्ञानलाई आत्मसाथ गरेर अगाडि बढे पनि विकास हुने उनले बताए ।
कोइरालाले केही हप्ताभित्रै विराटनगरवासीले परिवर्तनको महसुस गर्ने गरी काम गर्ने बताए । सबैभन्दा पहिला महानगरलाई भ्रष्टाचारमुक्त, पारदर्शी र जवाफदेही बनाउने उनको उद्घोष थियो । जनप्रतिनिधिहरू जनताको सेवक भएको बताउँदै विराटनगरका जनताले केही हप्तामै महसुस गर्ने गरी काम गर्ने उनको भनाइ थियो ।

भवन निर्माणका लागि उनले व्यक्तिगत एक लाख रुपैयाँ प्रदान गर्ने घोषणासमेत गरे । ११ नम्बर वडाका नवनिर्वाचित वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेले ज्येष्ठ नागरिक सेवा भवनलाई अझै व्यवस्थित र सुविधा सम्पन्न बनाउँदै लग्ने प्रतिबद्धता जनाए । उनले पठनपाठनका लागि पत्रपत्रिकासहित पुस्ताकालय स्थापना गर्नेसमेत जानकारी दिए ।

अध्यक्ष न्यौपानेले ज्येष्ठ नागरिकहरूका लागि दिवा खाजाको समेत व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा नवनिर्वाचित वडा सदस्य कृष्ण भट्टराई, समाजसेवी चिरञ्जीवी दाहाल, नेकपा एमालेका युवा नेता पर्शुराम बस्नेत, आयोजक संस्थाका अध्यक्ष ललित श्रेष्ठ, कोषाध्यक्ष भरत कार्की, इन्द्र खतिवडालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा संस्थाले नवनिर्वाचित मेयर कोइराला, उपमेयर शिल्पा कार्की, वडासदस्य गायत्री थापा, बलराम कारञ्जित, कृष्ण भट्टराई, गेनादेवी पासवानलगायतलाई माला, टिका लगाएर सम्मान गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्