कोरोना बीमावापतको रकम भुक्तानी गर्न उच्च अदालतको आदेश

कोरोना बीमावापतको रकम भुक्तानी गर्न उच्च अदालतको आदेश

विराटनगर । उच्च अदालत विराटनगरले कोरोना बीमाबापतको रकम भुक्तानी गर्न आदेश गरेको छ । उच्च अदालत विराटनगरका कायममुकायम मुख्य न्यायधीश सत्यमोहन जोशी थारु र न्यायधीश जगतनारायण प्रधानको संयुक्त इजालशले कोरोना बिमाको रकम भुक्तानी गर्न विमा कम्पनीको नाममा आदेश गरेको हो ।

नेपाल पत्रकार महासंघ मोरङ शाखाले २०७८ भदौ २१ गते उच्च अदालत विराटनगरमा बीमा रकम भुक्तानीका लागि परमादेश माग गर्दै रिट दायर गरेको थियो । उक्त रिट दायर निवेदकको पक्षमा परमादेश आदेश भएको उच्च अदालत विराटनगरका सूचना अधिकारी ओमराज सुवेदीले जानकारी दिए ।

नेपाल पत्रकार महासंघ मोरङ शाखाकोतर्फबाट अधिवक्ता मनोज कुमार आचार्यले सोमबारको पेशीमा पैरवी गरेका थिए । विपक्षीको तर्फबाट पाँच जना कानुन व्यवसायीहरूले बहस गरेका थिए । बादी र प्रतिवादीको तर्फबाट बहस सकिएपछि उच्च अदालतले विमा गर्ने कम्पनी अजोड इन्स्योरेन्स लिमिटेडलाई बिमा रकम भुक्तानी गर्न परामादेश आदेश गरेको सूचना अधिकारी सुवेदीले जानकारी गराए ।
नेपाल पत्रकार महासंघ मोरङ शाखाले बीमा सम्झौता गर्ने अजोड इन्स्योरेन्ससहित बीमा समिति, अर्थ मन्त्रालय र नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेको थियो ।

नेपाल पत्रकार महासंघ र अजोड इन्स्योरेन्स कम्पनीबीच द्विपक्षीय सम्झौता भई मोरङका २ सय जनाभन्दा बढी पत्रकार र उनीहरूका परिवारका सदस्यको बीमा गरिएको थियो । त्यसमध्ये ५१ जना बीमितमा कोरोना संक्रमण भएकोमा २० जनाले मात्र बीमा दाबी भुक्तानी पाएका थिए । विमा गरेका मध्ये ३१ जनाले भुक्तानी पाउन बाँकी रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्