विराटनगरको फोहोर थुपार्न राजमार्ग ‘डम्पिङ्ग’

विराटनगरको फोहोर थुपार्न राजमार्ग ‘डम्पिङ्ग’

विराटनगर । विराटनगरमा कुँईनेटो, घुमाउरो र खाली ठाउँमा फोहोरको डंगुर जताततै भेटिन्छन् । सडकको फोहोर दैनिक उठ्छ तर त्यसको सोझौ व्यवस्थापन गर्ने डम्पिङ्ग साइट नहुँदा शहरका विभिन्न ठाउँलाई संकलन केन्द्र जस्तो बनाइन्छ ।
विराटनगरका लागि यो नौलो समस्या हैन, समस्या मानिएको पनि छैन । तर, पछिल्लो समय विराटनगरको फोहोर संकलन राष्ट्रिय राजमार्गमा गर्न थालिएको छ । भर्खरै निर्वाचित जनप्रतिनिधिको नयाँ निर्णय त नभनौं तर संयोगले विराटनगरको महेन्द्रचौकदेखि बिजुली अफिससम्मको सडकको केन्द्रमा भागको डिभाइडर क्षेत्र फोहोर संकलन गर्ने स्थान बन्न थालेको छ ।

राष्ट्रिय राजमार्गको आफ्नै मापदण्ड हुन्छ । त्यसमाथि विराटनगर महानगरपालिका भित्रको सडकको अवस्था सुधार्नु वा सौन्दर्यकरण गर्नु महानगरवासीको प्रतिष्ठासँग जोडिन्छ । तर, फोहोर व्यवस्थापनको फितलो र प्राथमिकताविहीन योजनाका कारण अब राजमार्ग क्षेत्र समेत फोहोर थुपार्ने स्थान बनेको छ । पछिल्लो समय लिची व्यापारीले सबैभन्दा धेरै फोहोर डंगुर लगाएका छन् ।
महानगरपालिकाका सम्बन्धित विभागीय जिम्मेवारी सम्हालेका अधिकारी भने फोहोरको समस्या बारे बुझ्न खोज्दा तर्किहाल्छन् । महानगरको वातावरण महाशाखा प्रमुख राजेन्द्र प्रधानलाई राजमार्गको केन्द्रभागमा फोहोर थुपार्न थालिएको छ, किन ध्यान नदिनु भएको ? भनेर प्रश्न गर्दा–म राजश्वको बैठकमा छु, पछि कुरा गरौंला’ भन्ने जवाफ आयो !

विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उमेश बस्नेतले त्यसरी फोहोर थुपारिएको विषय जानकारी गराउँदा तत्काल हेरेर आवश्यक प्रक्रिया बढाउने जानकारी दिनुभयो । रानी–धरान छलेन सडकको केन्द्र भागमा सिमेन्टका डिभाइडर राखिएको थियो । त्यसलाई हटाएर पुनः फुलबारी बनाउने उद्देश्यसहितको नयाँ डिभाइडर बनाइयो । तर, त्यहाँ फुलरोप्ने, स्याहार्ने, हराभरा बनाउने र शहरलाई सुन्दर बनाउने योजना त बनेको छैन, उल्टै फोहोर थुप्रदा समेत कसैको चासो देखिदैन ।

विराटनगर महानगरपालिकाको फोहोर व्यवस्थापनका लागि तीन आर्कमा विभाजन गरेर तीनवटा कम्पनिलाई जिम्मेवारी दिइएको छ । तर, समस्या समाधान भन्दा झन्झन् बढ्दो छ । उत्तरी, मध्य र दक्षिणी आर्क विभाजन गरेर फोहोर संकलन र व्यवस्थापनको काम हुँदै आएको छ ।
गत मंसिर १ गतेदेखि लागु हुने गरि महानगरपालिकाले मासिक भुक्तानी गर्नुपर्ने दायित्व ४ लाख ३५ हजार एक रुपिँयामा कायम गरिएको छ । महानगरको उत्तरी क्षेत्र अन्तर्गत वडा नं १,२,३,४,५ र १९ को फोहोर संकलन र व्यवस्थापनको जिम्मेवारी नेपाल फुलबारी वेष्ट थ्री आर पोलुशन कन्ट्रोल सर्भिस प्रा.लि.लाई मासिक ९० हजार भुक्तानी गर्ने गरिएको छ । त्यस्तै विराटनगरको मध्यभाग अन्तर्गत वडा नम्बर ६,७,८,९, १० र ११ को फोहोर संकलन र व्यवस्थापनको जिम्मेवारी स्वास्थ्य र शान्तिका लागि बाताबरण नेपाल नामक सस्थाले जिम्मा लिइएको छ । यसले महानगरपालिकासँग मासिक एक रुपिँया मात्रै लिने गरि सम्झौता गरिएको छ । पाँचवर्षको ठेक्काका लागि यो संस्थाले ६० रुपिँया मात्रै बोलकबोल गरेको हो । यहि कम्पनीको क्षेत्र भित्र पर्ने विराटनगर–९ को शनिमन्दिर अगाडीको सडकको डिभाइडरमा अहिले फोहोर थुपार्न थालिएको छ ।

त्यसैगरी विराटनगरको दक्षिणी क्षेत्र वडा न १२, १३,१४ १५ १६ १७ र १८ आर एसडी सप्लायर्स सर्भिसेज प्रा.लि.ले फोहोर संकलन र व्यवस्थापन गर्ने गरी सम्झौता गरेको छ । जसलाई महानगरपालिकाले मासिक तीनलाख रुपिँया भुक्तानी गरिन्छ ।
घरमा उत्पादन भएको फोहोर संकलन र व्यवस्थापनका लागि मूल्य अभिबृद्धि कर (भ्याट) बाहेक मासिक दुईसय रुपिँया सेवाग्राहीले बुझाउने गरि कम्पनीले जिम्मा लिएका छन् । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेका सफाईकर्मीलाई समेत निजी कम्पनिको जिम्मा लगाइएको छ । तीनै कम्पनिलाई महानगरपालिकाले १०–१० जना सफाई मजदुर समेत दिइएको छ ।
तीनवटा कम्पनिले कामको जिम्मेवारी लिएपनि महानगरपालिका भित्रको सडकका किनारामा थुप्रिएको फोहोर र नगरवासीको घरमा उत्पादन भएको फोहोरको व्यवस्थापन अझै हुन सकेको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्