विराटनगर । पाठेघर मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाउने राष्ट्रिय अभियानमा देशभर चलिरहँदा विराटनगर महानगरपालिकाको एउटा तथ्यांकले धेरैलाई झस्कायो । खोपको मापदण्ड अनुसार विद्यालयमा अध्ययनरत कक्षा ६–१० का छात्रा र विद्यालय बाहिर रहेका १०–१४ वर्षसम्मका बालिका छन् । विराटनगर महानगरपालिका भित्र विद्यालय बाहिर रहेका बालिकाको संख्या दुई हजार ११७ देखाइएको छ ।
विद्यालय उमेर समूह अर्थात कक्षा ६ देखि १० सम्म अध्ययन गरिरहनु पर्ने बालिकाहरु कसरी यसको दायरामा छुटिरहेका छन् ? भन्ने प्रश्न सिर्जना भएको छ । विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखाको तथ्यांक अनुसार कक्षा ६ देखि १० सम्म ११ हजार ६१७ जना बालिका विद्यालयमा रहेको उल्लेख छ । जम्मा एचपीभी लक्षित बालिकाको संख्या भने १३ हजार ७३४ जना रहेको सार्वजानिक तथ्यांकमा उल्लेख छ ।
महानगरपालिकाको यो अभियानमा ११ हजार २९३ जना अर्थात राखिएको लक्ष्यको ८२.२ प्रतिशत बालबालिकाले खोप लगाएका छन् । विद्यालय र विद्यालय बाहिरका खोप लाभान्वित संख्या भने यकिन गरिएको छैन ।
महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाको तथ्यांक अनुसार कक्षा ६ देखि १० सम्म २५ हजार ६९१ जना विद्यार्थी अध्ययनरत रहेका छन् । शैक्षिक प्रशासन महाशाखाको जम्मा विद्यार्थीमा स्वास्थ्य महाशाखाको जम्मा छात्रा संख्या घटाउँदा १२ हजार २९१ छात्रहरु रहेको देखिन्छ ।
राज्इले उमेर अनुसारको कक्षा उत्तिर्ण हुने व्यवस्था गरेको छ । जसमा ५–९ वर्ष उमेरसम्म कक्षा १ मा भर्ना भए खुद भर्ना हुन्छ । त्यसभन्दा माथि भर्ना भएको भए कुल भर्नामा गणना हुन्छ । यसरी हेर्दा २०८०÷२०८१ को तथ्यांकमा कक्षा १–५ मा खुद भर्नादर ९४.८ प्रतिशत र कुल भर्नादर १३४.७ प्रतिशत रहेको छ । यसैगरी कक्षा ६–८ को खुद भर्नाद ९६.४ प्रतिशत र कुल भर्नादर १३२.३ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ । कक्षा १–८ को खुद भर्नादर ९५.४ र कुल भर्नादर १३१.८ रहेको छ । कक्षा ९ र १० मा खुद भर्नादर ७७.८ र कुल भर्नादर १२१.८ कुल भर्नादर रहेको छ ।
अहिले पनि कक्षा १ मा भर्ना हुनुपर्ने ५ वर्षदेखि ९ वर्ष उमेर समूहका ५.४ प्रतिशत विद्यार्थी कहाँ छन् ? भन्ने यकिन भएको छैन । शैक्षिक प्रशासन महाशाखा प्रशासनका शिक्षा अधिकृत कृष्ण भट्टराई ती ५.४ प्रतिशत विद्यार्थी तिनको तथ्यांक यकिन गर्न नसकेको बताउँछन् । उनले यकिन तथ्यांकमा नसमेटिएकाहरु खुद भर्नामा हुनसक्ने बताउँछन् ।
तर, शिक्षा र स्वास्थ्यको तथ्यांकलाई विश्लेषण गर्दा महानगरपालिकामा २ हजार ११७ जना बालिका विद्यालय बाहिर रहेको स्वास्थ्यको तथ्यांकमा उल्लेख छ । यसो हुँदा शिक्षाले भनेजस्तो ती बालिकाहरु विद्यालयको खुद भर्नादरमा समेटिएको भन्ने यसैपनि नसकिने देखिन्छ । यो पनि खोपका लागि निकालिएको तथ्यांकबाट देखिएको हो ।
विद्यालय उमेर समूहका विद्यार्थी भर्ना भएको खण्डमा अहिले शैक्षिक व्यवस्थापन सूचना प्रणाली (ईएमआईएस) मा देखिन्छ । यदि विद्यालयले त्यो सफ्टवेयरमा विद्यार्थी विवरण उल्लेख नगरे ती विद्यार्थी राष्ट्रियस्तरको गणनामा पर्दैनन् । तर, विराटनगर सबै विद्यालयले (ईएमआईएस) प्रणालीमा विद्यार्थीको विवरण राखेको शैक्षिक प्रशासन महाशाखाका अधिकृत भट्टराईले जानकारी दिए ।
विद्यालयको विद्यार्थी विवरण यकिन छ भन्ने दावी शैक्षिक प्रशासन महाशाखाले गरेका कारण स्वास्थ्य महाशाखामा देखाइएको ६–१० वर्षसम्मका ११० र ११–१४ वर्षका २००७ जना बालिका विद्यालय बाहिर रहेको सोझै प्रष्ट हुन्छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार विराटनगरमा १० वर्षदेखि १४ वर्षसम्मका १० हजार ९०७ जना बालक, १० हजार १०२ जना बालिका रहेको उल्लेख छ । यसैगरी ५–९ वर्षका १० हजार ३६९ बालक र ९ हजार ६८९ जना बालिका रहेको उल्लेख छ । यसैगरी ०–४ वर्षका ८ हजार ८२२ बालक र ८ हजार ३२ जना बालिका उल्लेख गरेको छ । २०७८ को गणनामा परेका ०–४ वर्षका बालबालिका समेत अहिले विद्यालय उमेर समूहमा पुगेका छन् ।