रगतको मूल्यमा वृद्धि

रगतको मूल्यमा वृद्धि

विराटनगर । सरकारले अत्यावश्यक मानिएको रगतको मूल्य समायोजन गरेको छ।

रगत प्राप्ति गर्दा लाग्ने शुल्क बढाइएको छ तर बढाइएको शुल्क सरकारी स्वास्थ्य संस्थामा लागू नहुने भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रति युनिट रगतको मूल्य ८१० देखि १ हजार ६४० रुपैयाँ कायम गरेको छ ।

मन्त्रालयले गत चैत २२ गते रगतको मूल्य बढाउने सचिवस्तरीय निर्णय गरेको थियो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले निजी तथा सरकारी रक्तसञ्चाल केन्द्रहरुलाई ८१० देखि १ हजार ६४० रुपैयाँसम्म कायम गर्न सकिने जानकारी गराएको छ। उक्त मूल्यमा ब्लड व्यागको १५०, ट्रान्सफ्युजन सेटको एक सय लगायत कायम गरिएको छ।

यता नेपाल स्वयंसेवी रक्तदाता समाजले रगतको मूल्य बढाएको भन्दै विरोध गरेको थियो। समाजले प्रेस विज्ञप्ति मार्फत दानमा आएको रगत नि:शुल्क बनाउनुपर्नेमा मूल्य बढाएको भन्दै विरोध गरेको हो। दानमा आउने रगत निःशुल्क रुपमा बिरामीलाई उपलब्ध गराउन समाजको माग छ।

गत वर्ष समाजको १५ औँ राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवसको अवसरमा जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा.रुणा झाले बिरामीहरुलाई रगत निःशुल्क उपलब्ध गराउने आश्वासन दिएकी थिइन् । देशभर ७३ वटा ब्लड बैंक रहेका छन्। यद्यपी अधिकांश ब्लड बैंकहरुमा रगत संकलन हुन हम्मे हम्मे पर्दै आएको छ।

दुर्घटनामा पर्ने, रक्तश्राव भएका, प्रसूति, मुटु, क्यान्सर तथा मिर्गौला विरामी, थालसेमिया, हेमोफिलिया, आकस्मिक अपरेसन गर्नुपर्ने विरामीहरुका आफन्तहरुलाई रगत पाउन निकै सकस हुन्छ। चिकित्सकहरुकाअनुसार स्वस्थ शरीर, मानसिक सन्तुलन ठीक, कम्तीमा १८ वर्ष पूरा भई ६० वर्ष ननाघेको र कम्तीमा ४५ केजी तौल भएको व्यक्ति रक्तदान गर्न सक्षम हुन्छन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सूचनामा भने वृद्धि भएको रगतको शुल्क निजी स्वास्थ्य संस्थामा मात्र लागू हुने उल्लेख छैन ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्