वासिङ्टन । मेक्सिको र चीनमाथि ठूला अमेरिकी शुल्कहरू लागू भएपछि संयुक्त राज्य अमेरिका र यसका सबैभन्दा ठूला आर्थिक साझेदारहरूबीच बढ्दो व्यापार युद्ध आज (मङ्गलबार) गहिरिएको छ । अमेरिकी शुल्कहरू लागू भएपछि बेइजिङ र अटावालाई तुरुन्तै प्रतिकार गर्न बाध्य पार्यो ।
विश्लेषकहरूले सन् १९४० को दशकपछि सबैभन्दा ठूलो आयात शुल्कहरू लगाएको भन्दै गरेको प्रतिक्रियामा एसिया र युरोपका बजारहरूमा गिरावट आएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेब्रुअरीमा प्रमुख व्यापारिक साझेदारहरू क्यानाडा र मेक्सिकोमाथि गैरकानूनी आप्रवासन र लागुऔषध तस्करीलाई रोक्न असफल भएको आरोप लगाउँदै एकमुष्ट २५ प्रतिशत शुल्क घोषणा गर्नुभएको थियो र त्यसपछि स्थगित पनि गर्नुभएको थियो ।
उहाँले मङ्गलबार दुवै मोर्चामा प्रगति नभएको उल्लेख गर्दै ती शुल्कहरू लागू गर्नुभयो ।
यी शुल्कले दुवै मुलुकबाट नौ खर्ब १८ अर्ब डलरभन्दा बढीका अमेरिकी आयातमा असर पार्नेछ र सवारी साधन र निर्माण सामग्री जस्ता स्वचालित क्षेत्रका लागि आपूर्ति शृङ्खलालाई बाधा पुर्याउने छन् ।
क्यानाडाले आफ्नै प्रतिशोधात्मक २५ प्रतिशत शुल्कका साथ प्रतिक्रिया दियो भने मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबामले अमेरिकी कदमका लागि कुनै औचित्य नभएको बताउनुभयो र आफ्नै शुल्कका साथ प्रतिकार गर्ने वाचा गर्नुभयो ।
ट्रम्पले सोमबार विभिन्न चिनियाँ वस्तुहरूमा पहिलेदेखि नै लागू भएका शुल्कहरूमाथि लगाइएको १० प्रतिशत शुल्कलाई २० प्रतिशत बढाउने आदेशमा हस्ताक्षर गर्नुभयो ।
बेइजिङले ‘अमेरिकाद्वारा एकतर्फी शुल्क लगाउने’ कार्यलाई निन्दा गर्दै संयुक्त राज्य अमेरिकाबाट विभिन्न कृषि आयातमा १० र १५ प्रतिशत शुल्क लगाउने घोषणा गर्यो ।
विशेषज्ञहरूले बढेका आयात लागतले उपभोक्ताका लागि मूल्य बढाउन सक्ने र यसले मुद्रास्फीति कम गर्ने प्रयासलाई जटिल बनाउने चेतावनी दिएका छन् ।
त्यसमा किराना पसलहरू पनि समावेश छन् । मेक्सिकोले अमेरिकी तरकारी आयातको ६३ प्रतिशत र फल तथा बदाम आयातको करिब आधा हिस्सा अमेरिकी कृषि विभागअनुसार सन् २०२३ मा आपूर्ति गरेको थियो ।
आवास लागत पनि प्रभावित हुन सक्छ । होमबिल्डरहरूलाई चाहिने दुई प्रमुख सामग्री नरम काठ र जिप्समको ७० प्रतिशतभन्दा बढी आयात क्यानाडा र मेक्सिकोबाट आएको नेसनल एसोसिएसन अफ होम बिल्डर्सले जनाएको छ ।
मेक्सिकोको ओटे मेसा सीमा पार गर्ने ट्रक चालकहरूले एएफपीलाई मङ्गलबार बिहान अमेरिका प्रवेश गर्न पर्खँदा नै असर महसुस गरिरहेको बताएका छन् ।
मेक्सिकोको सीमावर्ती सहर तिजुआनाका धेरै कम्पनीले चिनियाँ सामानहरू निर्यात गर्ने भएकाले काम घट्दै गएको चालक एन्जेल सर्भान्तेसले बताउनुभयो । “चीनविरुद्ध पनि शुल्क लागू भएकाले (ढुवानी) कम्पनीहरूका लागि काम घट्दै छ”, उहाँले भन्नुभयो ।
अन्त्यसम्म लड्ने
ओटावाले ३० अर्ब डलर मूल्यका सामानमा लगाएको २५ प्रतिशत कर मङ्गलबार मध्यरातदेखि लागू भएको छ ।
“क्यानाडाले यो अन्यायपूर्ण निर्णयलाई बिना जवाफ छाड्ने छैन”, क्यानाडाका एक खर्ब ५० अर्ब डलरभन्दा बढी सामानहरूमा केही हप्ताभित्र शुल्क लगाउने उल्लेख गर्दै प्रधानमन्त्री जस्टिन ट्रुडोले भन्नुभयो ।
चीनको कर आगामी हप्ता लागू हुनेछ र यसले अमेरिकी सोयाबिनदेखि कुखुरासम्मको आयातमा दशौं अर्ब डलरका आयातलाई प्रभावित गर्नेछ ।
चीनले अमेरिकी काठको सबै आयात स्थगित गरेको छ र तीन अमेरिकी निर्यातकहरूबाट सोयाबिन ढुवानी रोकेको छ ।
बेइजिङको विदेश मन्त्रालयले अमेरिकी व्यापार युद्धलाई ‘अन्त्यसम्म’ लड्ने प्रतिज्ञा गरेको छ ।
युरोपेली सङ्घका व्यापार प्रवक्ता ओलोफ गिलले क्यानाडा र मेक्सिकोमाथि लगाइएको करले ट्रान्सअटलान्टिक ‘आर्थिक स्थिरता’ लाई खतरामा पार्ने र विश्व व्यापारमा बाधा पु¥याउने जोखिम रहेको चेतावनी दिँदै वासिङ्टनलाई मार्ग परिवर्तन गर्न आग्रह गर्नुभयो ।
ट्रम्पले लाभ लिन खोज्नुहुन्छ
विश्लेषकहरूका अनुसार फेन्टानिल जस्ता औषधिहरूमा ट्रम्पका महसुलहरू सामाजिक–आर्थिक समस्याहरूलाई सम्बोधन गर्ने एक उपाय हो – जबकि कानूनी औचित्य प्रदान गर्दै चाँडै अगाडि बढ्न सकिन्छ – र वासिङटनले पनि लाभ र व्यापार सम्बन्धहरू पुनरसन्तुलन गर्न खोज्दैछ । तर क्यानाडा, मेक्सिको र चीनमा कर लगाउन आपत्कालीन आर्थिक शक्तिको प्रयोग गर्नु एउटा नयाँ कदम हो ।
विदेशी प्रतिशोधको हिसाब गर्नुअघि क्यानाडा, मेक्सिको र चीनमा शुल्क यस पटक प्रत्येकले अमेरिकी आर्थिक उत्पादनमा शून्य दशमलव एक प्रतिशतले कटौती गर्ने कर फाउन्डेसनले अनुमान गरेको छ ।
“हामी सन् २०२६ को सुरुआतसम्म सन् १९३६ देखिको सबैभन्दा उच्च प्रभावकारी महसुल दरमा पुग्न सक्छौँ”, केपिएमजीका मुख्य अर्थशास्त्री डायन स्वोन्कले महसुलहरू लागू हुनुअघि चेतावनी दिनुभयो ।
उपभोक्ता र उत्पादकहरू दुवैले अतिरिक्त शुल्कको लागत बेहोर्नुपर्ने भन्दै उहाँले यसबाट माग कम गर्न र व्यवसायहरूले लागत नियन्त्रणमा राख्न खोज्दा रोजगारी खतरामा पर्नसक्ने बताउनुभयो । रासस/एएफपी