विराटनगरको बरगाछीस्थित कृष्णप्रसाद कोईरालाको सालिक भत्काउने व्यक्तिको खोजी कार्य जारी

विराटनगरको बरगाछीस्थित कृष्णप्रसाद कोईरालाको सालिक भत्काउने व्यक्तिको खोजी कार्य जारी

विराटनगर । सामाजिक तथा राजनैतिक व्यक्तित्व कृष्णप्रसाद कोईरालाको अर्धकदको सालिक तोडफोडको प्रयास गर्ने व्यक्तिको खोजी कार्य मोरङ प्रहरीले थालेको छ ।

सालिक अनावरण नहुँदै तोडफोडको प्रयास गर्ने व्यक्तिको खोजी कार्य मोरङ प्रहरीले थालेको हो । गयराती करिब १० बजे विराटनगर–५ बरगाछी चौकस्थित कोईरालाको सालिक तोडफोडको प्रयास गरिएको थियो । वडा नं. ३ बस्ने प्रमोद पुडासैनी नाम गरेका व्यक्तिले सालिक तोडफोडको प्रयास गरेको स्थानीयले बताएका छन् । स्थानीयको आरोप र सिसीटिभी फुटेजका आधारमा मोरङ प्रहरीले उनको खोजी कार्य सुरु गरेको जनाएको छ । प्रहरीका अनुसार तोडफोडको घटना पश्चात उनी फरार छन् ।

कृष्णप्रसाद कोईरालाको सालिक पूर्वराष्ट्रपति रामवरण यादवले यही जेठ २८ गते अनावरण गर्ने कार्यक्रम थियो । कोईराला नेपालमा प्रजातन्त्र स्थापनाका अभियान्ता हुन् । उनकै पहलमा विराटनगर जुट मिल्स समेत स्थापना भएको थियो । उनका छोरा बिपी कोईराला, गिरिजाप्रसाद कोइराला र मातृकाप्रसाद कोइराला नेपालका पूर्व प्रधानमन्त्रीहरू हुन् । अहिले नाती पुस्ताका डा. शेखर कोइराला कांग्रेस राजनीतिमा सक्रिय छन् ।

गयराती सालिक तोडफोडको प्रयास भएपनि सालिकमा भने कुनै ठूलो क्षति नपुगेको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्