तराईमा डिएसपी र पहाडमा प्रहरी निरीक्षकको कमाण्डमा मनसुन विपद्प्रतिकार्य टिम

तराईमा डिएसपी र पहाडमा प्रहरी निरीक्षकको कमाण्डमा मनसुन विपद्प्रतिकार्य टिम

विराटनगर । नेपालमा मनसुन प्रवेश गरेसँगै प्रदेश १ सरकारले मनसुनजन्य घटनाबाट सुरक्षित रहनका लागि प्रतिकार्य योजनालाई अगाडि बढाएको छ । मनसुनबाट हुने क्षति नहोस तथा भइहालेमा त्यसको प्रतिकार्य चाँडो गरी नागरिकलाई सुरक्षित बनाउन सरोकारवाला निकायसँग छलफल गरिएको हो ।

बिहीबार आन्तरिक मामिला तथा कानून मन्त्रालयमा आयोजना भएको अन्तरक्रिया कार्यक्रममा सरोकारवाला निकायसँग सुझाव संकलनका साथै विपत् भई हालेमा छिटो भन्दा छिटो उद्धार कसरी गर्न सकिन्छ भनेर छलफल गरिएको थियोे ।
यो वर्ष वर्षमायामा औसतभन्दा बढी नै पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ । यसले जोखिम बढी हुने भएकाले त्यसलाई प्रतिकार्य गर्नका लागि सबै क्षेत्रका प्रतिनिधिहरू जुट्नु पर्नेमा सहभागीले जोड दिएका छन् । छलफलमा सुरक्ष ानिकायका प्रतिनिधि, सरकारी तथा गैह्र सरकारी क्षेत्रका प्रतिनिधिले आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।

छलफलमा प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव उपरीक्षक(डिएसपी) शुनिल राईले विपतको प्रतिकार्यका लागि प्रदेश १ का तराईका जिल्लामा डिएसपी तथा पहाडी जिल्लामा प्रहरी निरीक्षकको नेतृत्वमा टोली तयारी अवस्थामा रहेको जानकारी दिनुभयो । विपद् घटनाको पहिलो सूचना नै प्रहरी समक्ष पुग्ने भएकाले प्रहरी तैनाथ अवस्थामा रहेको बताउनुभयो । प्रदेशका तीनओटै सुरक्षा निकायका प्रतिनिधिले सबैको सहयोगमा उद्धार तथा राहतका काम छिटो गर्न सकिने धारणा राखेका छन् ।

सरोकारवाला निकायका प्रतिनिधिले विपद्को पूर्व तयारीले नै क्षतिको अवस्था कस्तो हुन्छ भन्ने देखाउने बताएका छन् । भौतिक संरचना निर्माण गर्दा विशेष ख्याल गरेमा पनि धेरै मात्रामा विपद्को जोखिम घटने उनीहरूको धारणा थियो ।
मन्त्रालयले नागरिकलाई सुरक्षित राख्नका लागि सम्बन्धित मन्त्रालयलाई आफ्नो क्षेत्राधिकार भित्रबाट काम गर्न आग्रह गरेको छ । मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीले नागरिकको सुरक्षाका लागि साथै उद्धार तथा राहतका लागि तत्तत् निकायबाट काम गर्न निर्देशन दिनुभयो । विपत् हुनुपूर्व नागरिकलाई सुसुचित गर्नेदेखि विपत् भइहालेमा त्यसपछि उद्धार तथा राहतको काममा एकजुट भएर लाग्ने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्