मोरङमा तस्करी बढ्यो, सेटिङ नमिलेमात्रै पक्रन्छ प्रहरी

मोरङमा तस्करी बढ्यो, सेटिङ नमिलेमात्रै पक्रन्छ प्रहरी

विराटनगर । मोरङमा खुल्ला सीमाबाट हुने चोरीतस्करी नियन्त्रण बाहिर देखिएको छ । भारतबाट अवैध रुपमा मालवस्तु भित्र्याउने गिरोह सीमावर्ती क्षेत्रमा सक्रिय देखिदाँ पछिल्लो समय तस्करीको ग्राफ पनि नराम्रोसँग बढ्दै गएको छ ।

अवैध रुपमा भारतबाट भित्र्याएका सामाग्री विराटनगरका बजारमा छ्यापछ्याप्ती भेटिन्छन् । पछिल्लो दुई महिना (चैत–जेठ मसान्त) मात्रै मोरङ प्रहरीले तस्करीमा संलग्न चारजना व्यक्ति र ६ वटा सवारी नियन्त्रणमा लिइएको छ । प्रहरीले एक करोड ७५ लाख २४ हजार ४५० रुपिँयाको सामान बरामद गरेर भन्सार तथा राजश्वमा थप कारवाहीका लागि बुझाएको छ ।

चालु आर्थिक वर्षको श्रावणदेखि जेठ मसान्तसम्ममा १९ जना संलग्न व्यक्ति २२ वटा सवारी नियन्त्रणमा परेका छन् । तस्करी गरेर ल्याएको सामानबाट चार करोड ९५ हजार ९१ रुपिँया राजश्व संकलन भएको छ । भन्सार छलेर भित्र्याएको आशंकामा प्रहरीले सामानसहित व्यक्ति, सवारी नियन्त्रणमा लिने गरेको हो ।

गत आर्थिक वर्षको दुई महिना चैत–जेठमा ३६ लाख ९३ हजार ४१० रुपैँया बराबरको सामान नियन्त्रणमा लिइएको थियो । तस्करीमा संलग्न चारजना मानिस र ९ वटा सवारी नियन्त्रणमा परेका थिए । गत आर्थिक वर्ष ४१ जना व्यक्ति र २२ वटा सवारी नियन्त्रणमा लिदाँ ३ करोड ७७ लाख ३० हजार ८२७ राजश्व संकलन भएको थियो ।

मोरङ प्रहरीका उपरीक्षक शान्तिराज कोइरालाले पछिल्लो समय अवैध रुपमा सामान भित्र्याउनेमाथि कडाई गर्दै पक्राउ गर्न थालिएको दावी गरेका छन् । तथ्यांकले समेत मोरङको प्रहरी प्रमुख भएर आएपछि अवैध चोरी पैठारीका सामान नियन्त्रणमा परेको देखिन्छ । तर, कतिपयले प्रहरीसँग सेटिङ नमिल्दा मात्रै सामान नियन्त्रणमा लिने गरिएको आरोप लगाएका छन् । ‘प्रहरीले भनेजति रकम बुझाउन नमान्दा तस्करी, खुरुक्क बुझाए छोड्ने प्रवृत्ति छ’ एकजना व्यापारीले भने अहिले प्रहरीले सीमा क्षेत्रमा लाइन चलाउनेसँग सेटिङमा सामान भित्र्याउन दिन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्