दुई घण्टा सडक अवरुद्ध पार्दै विराटनगर विमानस्थल पीडितहरु सडकमा

दुई घण्टा सडक अवरुद्ध पार्दै विराटनगर विमानस्थल पीडितहरु सडकमा

विराटनगर । दुई वर्षदेखि रोक्का गरेको घर जग्गाको मुआब्जा देऊ, नभए फुकुवा गर भन्दै विराटनगर विमानस्थल पीडितहरु सडकमा उत्रिएका छन् ।

उनीहरुले मंगलबारदेखी विमानस्थल जाने सडकमा दुई घण्टा प्रदर्शन गर्दै सडक अवरुद्ध पार्दै आएका छन् । मंगलबारदेखि सुरु भएको सडक प्रदर्शन बुधबार पनि निरन्तरता दिएका छन् ।

सरकारले सुनुवाई नगरे एयरपोर्ट रोडमा आमरण अनसन बस्ने समेत उनीहरुले चेतावनी दिएका छन् । पिडितहरुले उक्त सडकमा दुई घण्टा यातायात अवरुद्ध गरेका थिए । यस अघि उनीहरुले प्रमुख जिल्ला अधिकारी काशीनाथ दाहालमार्फत प्रधानमन्त्री र प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई ज्ञापन पत्र बुझाएका थिए । साथै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना बसिसकेका छन् ।

विमानस्थलको स्तरोन्नति गर्ने भन्दै सरकारले आसपासका साढे तीन सय परिवारको १ सय २६ बिघा जमिन र घर दुई वर्षदेखि रोक्का गरेर मुआब्जा दाबी गर्न बोलाएको थियो । तर सरकारले मुआब्जाका लागि चालु र आगामी आर्थिक वर्षको बजेटमा रकम विनियोजन नगरेपछि सम्बन्धित घरजग्गा धनी सडकमा उत्रिएका हुन् ।

२०७७ साल असोजमा मन्त्रिपरिषदले यो विमानस्थललाई क्षेत्रीयस्तरको बनाएर सार्क राष्ट्रमा हवाई उडान गर्ने भन्दै नागरिक उड्डयन कार्यालयलाई १ सय २६ दशमलव ४६ विघा जमिन अधिग्रहण गर्न निर्देशन दिएको थियो । प्राधिकरणले सर्वसाधारणको घर र जग्गा रोक्का गरेर तीन पुस्ते विवरण सहित मुअब्जा दावी गर्न आह्वान गरेको थियो ।

उनीहरुले कि छिटो मुआब्जा दिनुपर्ने कि रोक्का भएको जग्गा बेचविखन गर्न फुकुवा हुनुपर्ने माग राख्दै आन्दोलित उत्रिएका छन् ।
विराटनगर विमानस्थल पीडित संघर्ष समितिले विमानस्थलको प्रवेश गेटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको राजीनामा समेत माग गरेका छन् ।

‘लामो समयसम्म घर जग्गा रोक्का हुँदा आर्थिक संकटबाट गुज्रनु परेको र घरजग्गा रोक्का भएकैले बैंकमा धितो राखेर रकम निकाल्न नपाएको पिडितहरुले बताएका छन् ।

आफुहरुको मागको सुनवाई नभएपछि चरणबद्ध आन्दोलनको घोषणा नै गरेको संघष समितिको सयोजक वेदराज पौडेलले जानकारी दिनुभयो ।
असार १० गते जिल्ला प्रशासन कार्यालयअगाडि जग्गा प्राप्ति ऐन, २०३४ जलाउने र ऐन परिमार्जनका लागि सरकारलाई दबाब दिने कार्यक्रम रहेको छ ।

त्यसैगरी,असार ११ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको पुत्ला दहन, प्रमुख राजनीतिक दलहरूलाई आन्दोलनप्रति समर्थन र अपनत्व ग्रहणका निम्ति पत्राचार तथा शीर्ष नेताहरूसँग अन्तरक्रियाको कार्यक्रम राखेको जानकारी पौडेलले बताउनुभयो ।

विराटनगर विमानस्थललाई तीन हजार मिटरको धावनमार्ग सहितको क्षेत्रीय विमानस्थलका रुपमा स्तरोन्नति गर्न भन्दै २०७७ असोज १९ मा तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईको अगुवाईमा विराटनगर महानगरपालिका, प्रदेश सरकार र नेपाल नागरिक उड्ययन प्राधिकरणबीच त्रिपक्षीय सम्झौता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्