विराटनगरका–उद्योगी व्यवसायी आजदेखि पुनः आन्दोलनमा

विराटनगरका–उद्योगी व्यवसायी आजदेखि पुनः आन्दोलनमा

विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले आजदेखि पुनः सरकार विरुद्ध आन्दोलन सुरु गर्ने भएका छन् ।

सरकारको बजेटले समस्यामा परेका उद्योगका माग सम्बोधन नगरिएको भन्दै दोस्रो चरणको संयुक्त आन्दोलनमा उत्रने भएका हुन् । मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल, उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयशराज प्याकुरेल र नेपाल उद्योग परिसङ्घ (सिएनआई)–का अध्यक्ष भीम घिमिरेले संयुक्त विज्ञप्तिमार्फत आन्दोलन गर्ने जनाएका हुन् । आन्दोलनमा मजदुर र उद्योगीको संयुक्त सहभागिता हुनेछ ।

बिहीबार (आज) साढे ११ बजेदेखि विरोध जुलुस र कोणसभा गर्ने कार्यक्रम राखिएको छ । मोरङको बुढीगंगा गाउँपालिकामा पर्ने धरान–विराटनगर राजमार्गअन्तर्गत हुलास वायर उद्योगअगाडिको गोकुवा चौकमा विरोध प्रदर्शन गर्ने कार्यक्रम राखिएको छ ।

यसअघि तीन वटै सङ्गठन र चार मुख्य ट्रेड युनियनले अर्थ मन्त्रालयमा छुट्टाछुट्टै र संयुक्त गरी दुई वटा पत्र पठाई बुधबारसम्मको अल्टिमेटम दिएका थिए। मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले माग सुनुवाई नगरिएपछि आन्दोलनको विकल्प नरहेको बताएका छन् । आर्थिक विधेयक २०७९–२०८० मा जिआई वायर, वनस्पति घिउतेल र स्यानिटरी प्याड उद्योगका लागि त्रुटिपूर्ण व्यवस्था गरिएको भन्दै उनीहरुले स्वदेशी उद्योगहरू धरापमा पर्न गई सञ्चालक र श्रमिक मजदुर विस्थापित हुनुपर्ने बाध्यात्मक अवस्था सृजना भएकोले आन्दोलनमार्फत पुर्नमूल्यांकन गराउने योजना लिइएका हुन् ।

यसअघि जेठ २७ गतेका दिन अर्थ मन्त्रालयले बजेट पास भएका भोलि पल्टै सच्याउने आश्वासन दिए पनि हालसम्म पनि कुनै चासो नलिएको बताइएको छ ।

फोटो: फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्