एमाले निकट अनेरास्ववियूद्वारा विराटनगरस्थित नेपाल आयल निगम घेराउ

एमाले निकट अनेरास्ववियूद्वारा विराटनगरस्थित नेपाल आयल निगम घेराउ

विराटनगर । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मोरङले पेट्रोलियम पदार्थ लगायतका अत्यावश्यक वस्तुमा गरिएको मूल्यवृद्धि विरुद्ध आन्दोलन थालेका छन् ।

पेट्रोलियम पदार्थ र इन्धनको मूल्य बढाएर सरकारले नागरिकलाई समस्यामा पारेको भन्दै विद्यार्थी संगठनले शुक्रबार नेपाल आयल निगमको विराटनगरस्थित प्रादेशिक कार्यालय घेराउ गरेका हुन् । मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग सहित हाल उनीहरुले सरकार र आयल निगमका अधिकारी विरुद्ध नाराबाजी र प्रर्दशन गरिरहेका छन् ।

२०७९ असार ५ गते रातीको १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलमा २१, डिजेल तथा मट्टितेलमा २७, आन्तरिक हवाई इन्धनमा १९ र बाह्य हवाई इन्धनमा १०० अमेरिकी डलरले मूल्यवृद्धि गरेको छ । साविकको खुद्रा मूल्यमा गरिएको वृद्धि पश्चात हाल पेट्रोल १९९, डिजेल तथा मट्टितेल १९२ र आन्तरिक हवाई इन्धन १८५ रुपैयाँ प्रतिलिटरका दरले बिक्री भईरहेको छ ।

निगमले एलपी ग्यासको मूल्य भने यथावत नै राखेको छ । तर, पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको प्रभाव अन्य क्षेत्रमा समेत परेकाले आम नागरिकको दैनिकी कष्टकर बन्दै गएको विद्यार्थी नेताहरुले बताएका छन् ।

मूल्यवृद्धिका कारण दैनिक घरायसी सामाग्रीहरु समेत महङ्गो हुँदै गएकाले हाल घरपरिवार पाल्न पनि हम्मेहम्मे परेको उनीहरुको गुनासो छ ।

अनेरास्ववियु मोरङले बिहीबार पनि विराटनगरको ट्राफिक चौकमा खिर पकाएर सरकार र आयल निगमविरुद्ध प्रर्दशन गरेका थिए ।

जहिल्यै घाटामा रहने गरेको निगमलाई रोडमा पकाएको खिर बिक्री गरेर चन्दा संकलन गरिदिन विद्यार्थीहरुले साङ्केतिक प्रर्दशन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्