विराटनगरस्थित आरोहण गुरुकुलमा ‘स्रष्टा र सिर्जना’को सातौं शृंखला धनकुटाका लिम्बू प्रस्तुत

विराटनगरस्थित आरोहण गुरुकुलमा ‘स्रष्टा र सिर्जना’को सातौं शृंखला धनकुटाका लिम्बू प्रस्तुत

विराटनगर । विराट आदर्श साहित्य मञ्चको आयोजनामा ‘स्रष्टा र सिर्जना’को सातौं शृंखला शनिबार सम्पन्न भएको छ ।
विराटनगरस्थित आरोहण गुरुकुलमा आयोजित कार्यक्रममा धनकुटाका युवा कवि उत्तम लिम्बू प्रस्तुत हुनु भयो । उहाँले ‘मुलुकलाई तँ चाहिएको छ’, बग्दै–बग्दै जाने रहर’, ‘म त्यही हुनेछु’, ‘कण्डम फुटेपछि’, ‘म कवि भएँ’, ‘यसरी कसरी’, ‘युगका स्वर’, ‘तर तिमी आएनौ’, ‘ठूलीले जाँड बेच्न छाडिन्’, ‘बूढो रुख’ र ‘चरिमाया किराँती’ शीर्षकका कविता प्रस्तुत गर्नुभयो । युवाहरु आबद्ध मञ्चले साहित्य, कलाकारिता, संगीतलगायतका क्षेत्रमा काम गर्दै आएको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ विवश पोखरेलले युवाहरुलाई सिर्जनात्मक काममा आकर्षित गर्न विराट आदर्श साहित्य मञ्चले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । त्यस्तै आयोजक संस्थाका संरक्षक कवि एवं पत्रकार मीनकुमार नवोदितले मञ्चले स्थापनाकालदेखि नै युवाहरुलाई साहित्य, नाटकलगायतका विधामा आकर्षित गर्ने काम गरेको बताए । २०७१ सालमा स्थापित संस्थाले हरेक दुई–दुई महिनामा कविता वाचन, सम्मानलगायतका कार्य गर्दै आएको छ ।

मञ्चकै आयोजनामा यसअघि महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित खण्डकाव्य ‘मुनामदन’मा आधारित नाटक, वरिष्ठ आख्यानकार परशु प्रधानको ‘छिडिभरिको आकाश’ कथामा आधारित नाटक मञ्चन गरिसकेको आयोजक संस्थाका अध्यक्ष कटवाल दीपकले जानकारी दिए । प्याब्सन मोरङका वरिष्ठ उपाध्यक्षसमेत रहेका मञ्चका सल्लाहकार प्रेमलाल सिंह सुवाल, कवि हेमन्त निरौला, नविन भट्टराईलगायतले संस्थाका विषयमा आ–आफ्ना धारणा राखे । सोही अवसरमा विराटनगरस्थित इडेन वर्ग कलेजमा मञ्चको समिति विस्तार गरिएको छ । समितिका अध्यक्ष र सदस्यहरुलाई संरक्षक मीनकुमार नवोदित र अध्यक्ष कटवाल दीपकले खादा लगाएर स्वागत तथा बधाई ज्ञापन गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्