विराटनगरमा प्रदेश स्तरीय बास्केटबल र पौडी प्रतियोगिता हुने

विराटनगरमा प्रदेश स्तरीय बास्केटबल र पौडी प्रतियोगिता हुने

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा प्रदेश स्तरीय बास्केटबल र पौडी प्रतियोगिता हुने भएको छ ।

विराटनगर–६ स्थित एभरेष्ट कलेजमा आउँदो असार १७ गते बास्केटबल र २४ गते पौडी प्रतियोगिता हुने भएको हो । आईतबार कलेज परिसरमा पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगिता बारे जानकारी दिएको छ । बास्केटबलमा प्रदेशभरिका १२ वटा कलेजले भाग लिने आयोजकले जनाएको छ । आयोजक विराटनगर बास्केटबल एकेडेमीका अनुसार बास्केटबल प्रतियोगितामा विराटनगर, सुन्दरहरैंचा, इटहरी, धरान र बिर्तामोडका गरी १२ विद्यालयको सहभागिता रहनेछ । जसमा विराटनगरबाट एभरेष्ट, बिकेभिएम, डनबोस्को तथा सगरमाथा, सुन्दरहरैंचाबाट ब्राइट फ्युचर, इटहरीबाट हिमशिखर इङग्लिस स्कुल, धरानबाट होलिल्याण्ड इन्टरनेशनल, चिल्ड्रेन एकेडेमी, नवज्योति तथा कार्मेल हाई स्कुल र बिर्तामोडबाट टावर टेम्पलले भाग लिने बास्केटबल एकेडेमीका अध्यक्ष सरोज लम्सालले बताए । उनले बास्केटबलको विजेताले नगद ५० हजार, उप–विजेताले ३० हजार र तेश्रो हुने टिमले नगद रु. २० हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जानकारी दिए ।

यस्तै, असार २४ गते हुने पौडी प्रतियोगितामा प्रदेशभरिका विद्यालयहरूले भाग लिने आयोजकले जनाएको छ । । मोरङ पौडी सङ्घको प्राविधिक संयोजन तथा एभरेष्ट कलेजको आयोजनामा प्रदेशस्तरीय पौडी प्रतियोगिता हुन लागेको प्रशिक्षक इन्द्रजित राजभण्डारीले बताए । पौडी प्रतियोगितामा विभिन्न ३ इभेन्टमा सञ्चालन हुने उनले जानकारी दिए । उनले भने, ‘ एक सय, दुई सय र तीन सय मिटर प्रतियोगिता हुनेछ । प्रत्येक तीन विद्यामा विजेता हुने प्रतियोगीले १० हजार, द्वितीयले ७ हजार र तृतीयले ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।’

पौडी प्रतियोगितामा एकसय जना खेलाडीले भाग लिने आयोजकले जनाएको छ । आयोजकका अनुसार दुवै प्रतियोगिता सम्पन्न गर्न करिब ३ लाख खर्च हुनेछ । बास्केटबल र पौडीमा विजेता हुने विद्यार्थीहरूले एभरेष्ट कलेजमा पूर्ण छात्रवृत्तिमा पढ्न समेत पाउने कलेजका प्रमुख टिकाराम पुरीले बताए । एसइई दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गरी सो प्रतियोगिता आयोजना गरिएको उनले जानकारी दिए । ‘खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले बास्केटबल र पौडी प्रतियोगिता आयोजना गरिएको हो,’ उनले भने, ‘अहिले एसइई दिएर बसेका विद्यार्थीहरुलाई पनि समयको सही सदुपयोग गर्न सहयोग पुगोस भन्ने हाम्रो उद्देश्य हो ।’

दुवै प्रतियोगिता भने एभरेष्ट कलेज परिसरमै हुने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्