आचार्य, रिजाल र बस्नेतलाई कारवाहीको माग

आचार्य, रिजाल र बस्नेतलाई कारवाहीको माग

विराटनगर । कांग्रेसका नेता र कार्यकर्ताहरूले पार्टीको प्रभाव क्षेत्र मानिएको मोरङ क्षेत्र नं. ४ का २३ मध्ये १८ वडा गुमाउँदा पनि 'टिकट वितरणका ठेकेदारहरू नचेतेको' आरोप लगाउँदै तत्कालै नेता महेश आचार्य, महाधिवेशन प्रतिनिधि विश्वनाथ रिजाल र क्षेत्रीय सभापति विनोद बस्नेतलाई कारवाही गर्न माग गरेका छन् ।

पार्टीका आधिकारीक उम्मेदवारलाई सहयोग गर्दा पनि अन्तर्घातको बात लगाएर चरित्र हत्या गर्ने प्रयास भएपछि केन्द्रीय सदस्य भीम पराजुली, युवा नेता विनोद निरौला, कृष्ण भण्डारी (मणिराम) लगायतले मोरङ नेका पार्टी कार्यालयमा पत्र दर्ता गराउँदै कारवाहीको माग गरेका हुन् ।

कारवाही अनुरोधको बोधार्थ नेकां केन्द्रीय कार्यालय, प्रदेश पार्टी कार्यसमितिलाई पनि दिइएको छ । नेका युवा नेता निरौलाले मनपरी टिकट वितरण भएको प्रतिफल पराजय भएको र यो लुकाउन र ढाकछोप गर्न महेश आचार्य र उनको समूहले आफुहरूलाई बदनाम गर्न खोजेको आरोप लगाएका छन् ।

'हामी त पार्टी निर्णयअनुसार चल्ने हो, टिकट वितरण गर्दा गल्ती भएको स्वीकार नगर्ने अनि केही फरक धार समाएका व्यक्तिलाई सकाउन यसरी लागिन्छ भने पक्कै पनि हामी चुप लागेर बस्ने छैनौं' नेका क्षेत्रीय प्रतिनिधिसमेत रहेका भण्डारीले भने ।
उम्मेदवारमार्फत् निवर्तमान मेयर तथा पार्टी केन्द्रीय सदस्य भीम पराजुली, निरौला, भण्डारी, धर्म बानियाँलगायतलाई कारवाहीको सिफारिस गरिएको थियो। यसविरुद्ध पार्टीका कार्यकर्ताहरूले आइतबार पुगेर उल्टै महेश आचार्य, विश्वनाथ रिजाल र विनोल बस्नेतलाई कारवाहीको माग गरेका हुन्।

'टिकट वितरणमा आर्थिक चलखेलसमेत भएको थियो' भण्डारीले भने, 'गुट चलाउने, गलत व्यक्तिलाई टिकट दिएर पार्टी कमजोर बनाउने, गठबन्धनको मर्मलाई अस्वीकार गर्ने, आर्थिक चलखेल गरेर कांग्रेस हराउने कार्यमा लागेका नेतृत्वलाई नै कारवाही गरियोस् भन्ने हाम्रो माग हो।' नेका विराटनगर-३ वडा कार्यालयले समेत टिकट वितरणमा कमजोरी भएकाले कांग्रेस हारेको निष्कर्ष निकाल्दै कसैलाई पनि कारवाही नगर्ने निर्णय गरेको थियो ।

वडा समितिले उम्मेदवार चयनमा भएको त्रुटीका कारण पार्टीले नराम्रो पराजय भोगेको निष्कर्ष निकालेको थियो । तर, क्षेत्रमा गुट चलाउँदै आएका आचार्य, रिजाल र बस्नेतले उम्मेदवारलाई उचालेर बद्नाम गराउने उद्देश्यले केही व्यक्तिलाई कारवाहीको सिफारिस गर्दै पार्टीलाई झनै इगोमा रुपान्तरण गरेको आरोप अर्को समूहले लगाएको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचन नजिक आइरहेको बेला कांग्रेसभित्र द्वन्द्व र इगो बढ्दा कांग्रेस झनै कमजोर हुने कार्यकर्ताहरू बताउँछन् ।

घिमिरे पनि कारवाहीको सिफारिसमा परे

कांग्रेसका पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरेलाई ग्रामथान-६ मा असहयोग गरेको भन्दै कारवाही सिफारिस गरिएको छ। पार्टीका तर्फबाट उम्मेदवार भई पराजित भएका संजय माझीले घिमिरेले 'स्वतन्त्र उम्मेदवारका लागि मत मागेको' उल्लेख गर्दै क्षेत्रीय समितिमा कारवाही सिफारिस गरेका छन् ।

घिमिरेले सिफारिस हाँस्यास्पद भएको बताए। 'पार्टी निर्णय हुनुअघि असहमति भएकै हो तर, उम्मेदवार घोषणापछि असहयोग गर्ने कुरै आउँदैन' घिमिरेले भने, 'यहाँ आफ्नो गुट चलाउन र फरक विचारधारा भएकालाई सकाउने षड्यन्त्र भएको छ, यो षडयन्त्र सफल हुने छैन ।'

विराटनगर-३ का पराजित उम्मेदवारबाट कारवाही सिफारिसमा परेका केन्द्रीय सदस्य भीम पराजुलीले आफुसहित अमृत अर्याल, दिलिप गच्छदारलगायत घरदैलोमा लागेर आधिकारीक उम्मेदवार विजयी गराउन लागेको बताउँदै भने, 'मैले तन, मन र धनले सहयोग गरे, तर गुट बलियो बनाउने नाममा अहिले आएर हामीलाई बदनाम गराउन खोजिएको छ ।' आजको न्यू सृष्टि दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्