वर्षासँगै मोरङको अवस्था : केराबारीमा निर्माणाधिन पुल भत्कियो, नौ स्थानीय तहमा असर

वर्षासँगै मोरङको अवस्था :  केराबारीमा निर्माणाधिन पुल भत्कियो, नौ स्थानीय तहमा असर

विराटनगर । बिहानैदेखि परेको वर्षाले मोरङको केराबारी गाउँपालिका–९ बेलचौरीस्थित तुर्के खोलामा निर्माणाधिन पुल भत्किएको छ । बेलचौरी र भलुवा जोड्ने पुलको आधा भाग बाढीका कारण भत्किएको हो । स्थानीय यज्ञ कटवालका अनुसार दशवर्षदेखि निर्माणाधिन पुल भत्किएपछि स्थानीय थप समस्यामा पर्ने भएका छन् ।

सोमबार बिहानदेखि परिरहेको पानीका कारण मोरङका नौ स्थानीय तह प्रभावित बनेका छन् । विराटनगर महानगरपालिका–८ का २५ घरपरिवार विस्थापित भएका छन् । त्यहाँ संभावित जोखिममा रहेका ९५ परिवारलाई त्रिपाल टाँगेर सुरक्षित स्थानमा सारिएको छ ।

यसैगरी घिनाघाट–विराटचौक सडक अन्तर्गत ग्रामथानको खुनियाकट्टामा सडक अवरोध भएको छ । त्यहाँ डाइभर्सनमार्फत बाटो खुलाउने काम भईरहेको मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिनुभएको छ ।

कानेपोखरी–६ मा भलुवा खोलाको बाढी पसेर तेजबहादुर दर्जीको सँुगुरको खोरमा रहेका सातवटा पाठा बगाउँदा २८ हजार मूल्य बराबरको क्षति पुगेको छ । यसैगरी बेलबारी–६ मा खैटे खोलाको बाढी पस्दा आठ परिवारलाई आफन्तको सुरक्षित गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

सुनवर्षी नगरपालिका–६ मा बक्राहा खोलाले बाँध कटान गर्न थालेपछि अहिले रोकथामको प्रयास भईरहेको छ । खोला बस्तीमा पस्ने जोखिम बढेपछि सुरक्षा निकाय परिचालन गरिएको छ ।

मोरङको बुढीगंगा गाउँपालिका–२ मा रहेको विराट टिचिङ अस्पतालको आकस्मिक कक्षामा पानी पस्दा सेवा अवरुद्ध भएको छ । बिहानैदेखि अस्पताल परिसरमा पानी जमेपछि अहिले भुँई तलामा रहेको आकस्मिक कक्षको उपचार सेवा बन्द गरिएको हो ।

यसैगरी बुढीगंगा गाउँपालिका–२ को खाप टोलका २६ घरमा सिंघिया खोलाको बाढी पसेपछि ११५ जनालाई वडा कार्यालयको भवनमा स्थान्तरण गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । कटहरी गाउँपालिका–१ टाईगरटोलमा सिंघियाको बाढी पस्दा ६० घरपरिवारका २५० जनालाई स्थान्तरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्