विराटनगर । अविरल वर्षासँगै आएको बाढीले विराटनगरका केही घर डुवानमा परेपछि विस्थापित हुन पुगेका छन् । मंगलबार विहानैदेखी लगातारको वर्षाले विराटनगरको सिंघिया र केशलिया खोलामा बाढी आएका कारण उनीहरु विस्थापित भएका हुन् ।विराटनगर बजार क्षेत्रमा नालामा पानी जमेर सडक जलमग्न भएपछि घर भित्रै पानी पसेपछि घरमा ताला लगाएर अन्य ठाँउमा स्थान्तरण हुन वाध्य भएका छन् ।
विराटनगर-८ स्थित सिघीया र केशलिया खोलामा आएको बाढीले गर्दा खोला आसपासका होचा बस्ती डुवानमा परेका छन् । विहानैदेखी परेको अविरल बर्षाले गर्दा आफुहरु सुरक्षित स्थान तर्फ सरेको स्थानिय बाढी पिडीतले बताए ।
उनीहरुले अहिले घरका सामान सहित सुरक्षित स्थान तर्फ लागेका छन् । विराटनगर–८ सिंघिया खोलाको बाढी पस्दा ३०देखी ४० वटा घर डुबानमा परेको वडा नम्बर ८ का वडा अध्यक्ष राम पोखरेलले जानकारी दिए ।
विराटनगर ८ मा रहेको सुकुम्बासी बस्तीमा हरेक बर्षमा २ पटक बाढीमा पस्ने गरेको पोखरेलले बताए । बस्ती डुवान हुन नदिनको लागी राज्यले सुकुम्बासी बस्तीलाई व्यावस्थापन गर्नुपर्ने पोखरेलको भनाई छ ।
वडावासीको घरमा पानी पस्न थालेपछी वडा अध्यक्ष पोखरेल स्वयम् फिल्डमा निस्किएर ढल निकासीको लागी पहल गर्दै आएका छन् । विराटनगर महानगरपालिकाबाट स्काभेटर ल्याएर नालामा जमेको पानी र फोहोरलाई व्यावस्थापन गरिएको छ ।
उता हाटखोला प्रहरीले पनि डुवान भएका बस्तीबाट बालबालिका र सरसामानको उद्धार गरी सुरक्षित ठाँउ तर्फ राखेका छन् । सिघीया खोलामा उर्लिएको बाढीले गर्दा शव जलाउने परोपकार घाट डुवानमा परेको छ भने विराटनगर २ स्थित हनुमान मन्दिर नजिकै रहेको सिघीयाखोलाको बस्तीका घर पनि पुरै डुवानमा परेको छ ।
मोरङको कटहरी गाउँपालिका स्थित फलफुल तथा तरकारी थोक बजारमा पनि पानी पसेको छ ।
सिघीया खोला नजिकै रहेका घर डुवानमा परेपछि स्थानियहरुवासी फलफुल तथा तरकारी थोक बजारको भवनमा सरेका छन् । कतिपयलाई बस्ने ठाँउ समेत नहुदा स्थानियवासी आक्रोसित भएका छन् ।
गएरातीदेखि जारी निरन्तर बर्षाका कारण मोरङमा हालसम्म ११९ घरका ४९३ जना विस्थापित भएका छन् । यता विराटनगर ४, ५ , ६ लगायत दक्षिण भेगमा रहेका अघिकास घर डुवानमा परेका छन् ।
घरमा पानी पसेपछी स्थानिय आफन्त र साथी भाईकोमा साहारा लिन वाध्य छन् । आगामी ३ दिनसम्म सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १ को विभिन्न स्थानमा भारी बर्षाको सम्भावना समेत रहेको छ । खोलाहरुमा पानीको जलस्तर समेत उच्च हुनेसक्ने भन्दै महाशाखाले आवश्यक सर्तकता अपनाउन आग्रह समेत गरेको छ ।