-केशव भट्टराई
बिहानैदेखि साँझसम्म घोटिएर कुदिरहेका,
जीवनलाई फर्किएर नहेरेका
कसैलाई नसुनेका
साक्षी स्वरूप
अविश्रान्त स्थिर
डिल्लीराम इतिहास हुन्
उनी बोर्डिङका सर हुन् ।
प्रत्येक घन्टीमा
जीवनका सुषुप्त पहाडले
सयौँपटक मर्ममा हिर्काउँदासम्म
आकाङ्क्षाको अचेतनलाई
डुबाइ राखेर पानीमा
उद्देश्यको लगामले खैँचेर
कक्षा पुगेका,
प्रशासनले बोलाउँदा
जिम्मेवारीले किचिएर
प्रहरीझैँ होसियार बनेका,
उमेर,जवानी र उल्लासको रस
त्यही चहुर वरिपरिका
रङ्गीचङ्गी बोटबिरुवाका
स्वभाव-प्रकृतिअनुसार
सिँचन गरी
माली बनेका
डिल्लीराम लगनशीलताका पर्याय हुन्
उनी बोर्डिङका सर हुन् ।
स्कुल परालको छाप्रो हुँदै आएर रूपरङ कायापलट हुँदा
उनको अनुहार चाहिँ
माकुराको जालोमा झुण्डिरहेको
त्यही छाप्रो जस्तै बनेका छन्
डुङ्गा बनेर जीवन
वारपारको कमाइ
दाह्री -जुँगा -केश
सेतै बनेर
प्रत्येक वर्ष थपिदा
जीवन चाहिँ फुल्न नसकेको
त्यही उनिउँ जस्तै बनेका छन् ।
उनैबाट विद्याको जग बसेको
उनैबाट भौतिक सम्पन्नताको जग उठेको
इतिहास छर्लङ्गिए पनि
ज्ञानलाई पैसाको लगानीले
घुम्ने कुर्सीमा
विद्वत्ताको माला लगाएर
आत्मोपकार गर्नेहरूको
तस्विर भित्ता -भित्तामा
स्वर्ण अक्षरमा शिक्षासेवीको छवि
कोरिएको छ ।
अनुर्वर माटो
मलजल पसिनाले
विविध स्वरूप र आकारमा
उर्वर गर्ने डिल्लीराम
माटामै रहेर
फूल फुलाए
फल लगाए
त्यसको सुबास र रसले
जीवन प्रतिष्ठित र भव्य बनाए
तर आफू चाहिँ हिलोमा कमल बनेर
नहेरिएका उनले
त्यही माटोलाई ओल्टाइपल्टाइ हेरिरहे
र निचोरेर
जादुगरले झैं कसैलाई हिरा बनाइदिए
कसैलाई मोती बताइदिए
र संसारभर बिकाइदिए
हो, उनी बोर्डिङका सर हुन् ।
उनले किताब पढाएनन्
जीवन पढाए
उनले सिद्धान्त पढाएनन्
व्यवहार पढाए
जीवनभरिको रोमरोममा रहेको
अजस्र उर्जा खन्याए
र आफू चाहिँ फोस्रो/रित्तो/खाली बनेर
खेतमै छोडिएको बाली बनिरहे
जुन आफैँ सुकेर सकिन्छ
रूपरङ उडेको र नटिपिएको
अग्लो हाँगाको फल बनिरहे
जुन थाह नपाई आफैँ झरेर फुट्छ
हाटबजारमा नबिकेको
वस्तु बनिरहे
जुन आफैँ कुहिएर सकिन्छ
हो, डिल्लीराम उनै हुन्
उनी बोर्डिङका सर हुन् ।