महेन्द्र मोरङ क्याम्पसको भवन बनाउने विषयमा विवाद :अवरोध गर्ने विरुद्ध आन्दोलन

महेन्द्र मोरङ क्याम्पसको भवन बनाउने विषयमा विवाद :अवरोध गर्ने विरुद्ध आन्दोलन

विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा विगत लामोसमय देखि भवन निर्माण कार्य अवरुद्ध गर्ने प्राध्यापक संघ र केही विद्यार्थी संगठनका विरुद्ध तीन राजनीतिक दलका विद्यार्थी संगठन आन्दोलित बनेका छन् । क्याम्पसका तीन विद्यार्थी संगठनका नेताहरुले प्राध्यापक संघ र केही विद्यार्थी संगठनका नेताहरुले कमिसन नपाएका कारण नयाँ भवन बन्न नसकेको आरोप लगाउँदै सोमबार आन्दोलन गरेका हुन् ।

क्याम्पसमा नेकपा (एस) निकट अनेरास्ववियू, नेपाली कांग्रेस निकट नेविसंघ र एमाले निकट अनेरास्ववियुले संयुक्त रुपमा सोमबार कोणसभा आयोजना गरेका छन् । कोणसभामा बोल्दै विद्यार्थी नेताहरुले ठेक्का लागेको १ वर्ष हुन लाग्दा समेत भवन निर्माणको काम अगाडी बढ्न नसक्नुको कारण प्राध्यापक संघ र केही विद्यार्थी संगठन भएको बताएका हुन्। कार्यक्रममा बोल्दै अनेरास्ववियूका नेता निर्मल भण्डारीले तीन करोड लगानीमा बन्ने भवन ठेक्का लागिसकेर ठेकेदारले ३४ लाख समेत लगिसक्दा पनि निर्माण कार्य अघि बढ्न नसकेको बताए । उनले भने, ‘ राष्ट्रपति कार्यालयले प्रत्येक वर्ष ५ करोडका दरले ५ वर्षसम्म २५ करोड रकम दिने भनेपनि तर सो रकमबाट बन्ने भवन प्राध्यापक संघले बनाउन दिएको छैन । त्यसमा केही विद्यार्थी संगठनले समेत समर्थन गर्दै आएका छन् ।

यता नेविसंघका नेता जसवन्त पौडेलले पनि विद्यार्थीलाई कक्षाकोठाको अभाव भैरहेको नजरअन्दाज गर्दै प्राध्यापक संघले अफ्नो नीजि स्वार्थको लागि भवन बनाउन नदिएको बताए। उनले भने, ‘ प्राध्यापक संघका सभापति विमल कुमार कंठ आफैं थेसिस चोर हुन्, टियुले कारबाही समेत गरिसकेको उनलाई महेन्द्र मोरङको भवन बनाउन रोक्ने कुनै अधिकार छैन्।’ यस्तै अनेरास्ववियुका नेता जोसेफ घिमिरेले प्राध्यापक संघले पैसा नपाएका कारण भवन बनाउन नदिएको बताए। उनले केही प्राध्यापकहरुले कमिसन मागेको र उक्त कमिसन नदिएकाले भवन निर्माण कार्य रोकेको बताए । उनले भने, ‘ हामीहरू अब जसरी पनि भवन निर्माण कार्य अगाडि बढाउने भनेर लागिपरेका छौँ। त्यसका लागि सबै विद्यार्थी साथीहरुले साथ र सहयोग गर्नुपर्छ।’

क्याम्पस प्रमुखको कार्यकक्षमा प्राध्यापक संघले एक वर्षदेखि तालाबन्दी गरेको थियो। उक्त तालाबन्दीले गर्दा ठेक्का लागिसकेको भवन निर्माण रोकिएको भन्दै केहिदिन अगाडि विद्यार्थी संगठनले तालाबन्दी तोडिदिएका थिए। तर पुनः प्राध्यापक संघले आइतबार क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्यो र त्यसमा अखिल क्रान्तिकारी सहितका केही संगठनले समेत ऐक्यबद्धता जनाएका छन् । सोही विषयलाई लिएर केही दिनदेखि क्याम्पसमा विद्यार्थी संगठनहरु र प्राध्यापक संघबीच द्वन्द चलिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्