ओबी समाचार प्रभाव : विराटनगर बसपार्कमा पोल ढलेर घाईते दुई मजदुरको उपचार खर्च निर्माण कम्पनीले बेहोर्ने

ओबी समाचार प्रभाव : विराटनगर बसपार्कमा पोल ढलेर घाईते दुई मजदुरको उपचार खर्च निर्माण कम्पनीले बेहोर्ने

विराटनगर । विराटनगर बसपार्क परिसरमा गत बुधबार चार्जिङ स्टेशनको पोल ढलेर किच्दा घाईते भएका दुई मजदुरको उपचार खर्च ठेकेदार कम्पनीले बेहोर्ने भएको छ । चार्जिङ्ग स्टेशनका लागि गाडीएको पोल ढलेर विराटनगर–११ का रोहन मगर र अभिनास रजक घाइते भएका थिए । उनीहरुको उपचार नोबेल अस्पतालमा भईरहेको छ ।

निर्माणको ठेकेदार वाङ्गब्याङ्ग डिजिटल इनर्जी को.लि. चाइनाको तर्फबाट नेपाल स्थित प्रतिनिधि संस्था ग्याजेटश एण्ड गिजमोज ट्रेडर्स प्रा.लि.नक्साल काठमाण्डौं, जेबी प्रा.लि.पोखराले बेहोर्ने भएको हो । उपचारपछि मजदुरहरुको अवस्था र क्षमताका आधारमा जीवन निर्वाहका लागि आवश्यक भएमा पछि छलफल गरिने गरि सहमति भएको हो ।

बसपार्कमा नेपाल बिद्युत प्राधिकरण, आयोजना व्यवस्थापन निर्देशानालय अन्तर्गत बिद्युत सवारी चार्जिङ्ग तथा पूर्वाधार विकास आयोजना अन्तर्गत बिद्युतीय सवारी चार्जिङ्ग स्टेशन निर्माण भईरहेको छ । लगातार वर्षा भएपछि गत असार १५ गते पीएससी पोल ढलेको थियो ।
निर्माण कम्पनीले सुरुमा उपचार खर्च बेहोर्न नमानेपछि मजदुरले दवाव दिदैं आएका थिए । घाईतेको विराटनगर बसपार्क मजदुर संंगठन र मजदुरहरुले उपचार गरेका थिए ।

जिल्ला प्रशासन कार्यालय मोरङमा विराटनगर–११ का वडाअध्यक्ष, मजदुर संघसंगठनका प्रतिनिधि र निर्माणको जिम्मेवारी लिइएको कम्पनीका प्रतिनिधिबीच असार १९ गते भएको छलफलपछि घाईतेको उपचार गर्ने जिम्मेवारी लिइएको हो ।
सहमतिमा घाईतेकोतर्फबाट बलबहादुर मगर, नेपाल यातायात व्यवसाय मजदुर संगठनका महानगर अध्यक्ष उत्तम बन्जरा, वडा अध्यक्ष तिर्थेन्द्र न्यौपाने, खर्च बेहोर्ने संस्थाका प्रतिनिधि शिवराम अधिकारी र विराटनगर बसपार्क व्यवस्थापन समितिका अध्यक्ष पदमकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

उक्त घटनापछि आवर विराटनगरले मजदुरको पक्षमा आवाज उठाउँदै समाचार सामाग्रीहरु प्रकाशन र प्रसारण गरेको थियो । घाईतेको उपचारमा पहलसँगै निर्माण कम्पनी विरुद्ध दवाव दिईरहेका मजदुरको पक्षमा आवर विराटनगरले सहयोग गरेको थियो ।
मजदुर संगठन , सञ्चारमाध्यमको पटक पटकको दवाव र प्रहरी प्रशासनको समेत ध्यानकर्षण गराएपछि ठेक्का लिने कम्पनीले चारदिनपछि सम्पर्कमा आएको थियो । जिल्ला प्रशासनमा भएको छलफलमा ठेकेदार कम्पनीका शिवराम अधिकारीले घाईतेको उपचार जिम्मा लिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्