विराटनगरले कवाडी कर बढाउन खोजेको भन्दै व्यवसायीको विरोध

विराटनगरले कवाडी कर बढाउन खोजेको भन्दै व्यवसायीको विरोध

विराटनगर । विराटनगर महानगरपालिकाले कवाडी तथा निकासी करका लागि बोलपत्र आह्वान गरेपछि व्यवासायीले विरोध जनाएका छन् । महानगरपालिकाले आगामी आर्थिक वर्षमा कवाडी र निकासी करको शुल्क बृद्धि गर्दै बोलपत्र आह्वान गरेको हो । महानगरले आर्थिक वर्ष २०७९÷२०८० का असार ३ गते ७५ लाखमा बोलपत्र खुलाएको थियो । गतवर्ष ३२ लाख रुपैँयाको बोलपत्र नमूनाका लागि खोलिएको थियो । कवाडी व्यवासायी संघ विराटनगरले कवाडी करको दर बढाउँदै बोलपत्र आह्वान गरिएको भन्दै विरोध गरेको हो ।

निर्वाचनको बेला करको दर घटाउने नारा लिएका प्रमुख नागेश कोइरालाले कर बढाउने योजनासहित बोलपत्र खुलाएको आरोप संघका सह–सचिव सन्तोष साहले लगाएका छन् । विराटनगर महानगरपालिकाका प्रमुख कोइरालाले भने स्थानीय शासन सञ्चालन ऐन २०७४ ले दिइएको अधिकारलाई टेकेर कवाडी करका लागि बोलपत्र खुलाइएको दावी गरे । उनले करको दर घटाउने भनिएपनि दायरा बढाउनु पर्ने भएकोले यस पटक कबोल रकम बढाइएको बताए ।

सुनसरी–मोरङ औद्योगिक करिडोर अन्तर्गत बुढीगंगा गाउँपालिका र दुहबी नगरपालिकाले कवाडी कर असुल्दै आएका थिए । त्यसको उद्योगी–व्यवसायीले विरोध गर्दै आएका थिए । तर, विराटनगर महानगरपालिकाले कवाडी कर लगाउने विषयमा राजश्व परामर्श समितिमार्फत मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, नेपाल उद्योग परीसंघ, विराट व्यापार संघ र कवाडी व्यवसायी संघसँग समेत सुझाव लिइएको प्रमुख कोइरालाले जानकारी दिए ।
विराटनगर महानगरपालिकाका पूर्व प्रमुख भीम पराजुलीले कार्यकालको अन्तिममा आर्थिक वर्ष २०७८÷२०७९ का लागि ३२ लाख रुपैँयामा कवाडी कर असुल्ने ठेक्का लगाएका थिए । उनले आफू दोहोरिएर मेयर भए हटाउने नगरपरिषद्मा आश्वासन दिएका थिए । गतवर्ष ट्रयालको रुपमा कवाडी कर असुल्ने निर्णय गरिएको थिएछ, मेयर कोइरालाले भने–कारोबार मुनाफायोग्य रहेको ठहर भएपछि यस पटक आय बढाउने लक्ष्यसहित बोलपत्र खुलाएको छौं ।

कवाडी व्यवसायी संघ विराटनगरका अध्यक्ष नुरुल मियाँले महानगरपालिकाले करको दर घटाउने भनेपनि कवाडी कर बढाउने उद्देश्य राखेको भन्दै निर्वाचनको बेलाको प्रतिवद्धता विपरित काम भएको गुनासो गरे । संघले मेयर कोइरालालाई यस विषयमा ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र समेत बुझाएको छ । अध्यक्ष मियाँले महानगरपालिका भित्रको फोहोरको व्यवस्थापन गर्न सघाउने व्यवसायीलाई उल्टै कर बढाउने मनसाय राखेर हतोत्साहित पारेको आरोप लगाए ।
विराटनगरमा एकसयको हाराहारी संख्यामा कवाडी व्यवसायी रहेको दावी गरिन्छ । शहरका सडकमा फ्याँकिएका फोहोरजन्य वस्तु संकलन गरेर कवाडीका सामाग्री खरिद गर्ने व्यवसायीलाई बिक्री गरिन्छ । औद्योगिक क्षेत्रमा उत्पादन भएका कवाडीको समेत खरिदबिक्री हुने गरेको छ । व्यवसायी साहका अनुसार गतवर्ष एक ट्रक फलामको स्क्रापको १६ हजार ९५० रुपैँयासम्म बुझाइएको थियो । आगामी वर्ष महानगरको बोलपत्रमा उल्लेखित कबोल कायम भए त्यहि वस्तुको कर ३० हजारको हाराहारीमा पुग्नेछ ।

करिडोरका स्थानीय तहले खाली बोतलको २५ पैसाप्रतिगोटा, प्लाष्टिकका पुराना भाँडाको प्रतिकेजी ५० पैसा, खाद्यन्न प्याकेजिङ गर्ने बोराको २५ पैसाप्रतिगोटा, एकसय केजीसम्म खाद्यन्न अट्ने जुटका बोराको एक रुपिँया, तेलको टिनको १ रुपिँया, प्राकृतिक तथा कृत्रिम उनका टुक्रामा एक रुपिँया, गार्मेन्ट कपडाको टुक्रा प्रतिकेजी १ रुपिँया, जलेको मोबिल प्रतिलिटर ५० पैसा, कार्पेटका टुक्रा प्रतिकेजी ५० पैसा, टायर ट्यूब प्रतिकेजी ५० पैसा, पुरानो ड्रम प्रतिकेजी १ रुपिँया, पुरानो कागज प्रतिकेजी ५० पैसा, धातुका टुक्रा प्रतिकेजी २.५ रुपिँया, काम नलाग्ने मेशिनगरी, पोलिथिन पाइपका टुक्रा ५० पैसा, पुरानो इटा प्रतिट्याक्टर ५० र ट्रक १०० रुपिँया, धानको भुस प्रतिकेजी १० पैसा, कानुनले निषेध गरेको जीवजन्तु बाहेक मृत वा मारिएका जीवजन्तुको हाड, प्वाँख र छालामा कवाडी शुल्क असुल्दै आएका छन् ।

हाँस र कुखुराको प्वाँख प्रतिकेजी २.५ रुपिँया, हाड १ रुपिँया, सिंग ५० पैसा, खुर ५० पैसा, छाला ठूलो प्रतिगोटा १५ र सानो प्रतिगोटा ७ रुपिँया असुल गने गरिएको छ । व्यवसायीले महानगरमा व्यवसाय नविकरण शुल्क वापत पाँच हजार, आन्तरिक राजश्वमा आयकर १३ प्रतिशत, वाणिज्यकर ७ हजार ५०० बुझाएर व्यवसाय दर्ता तथा नविकरण गर्नेगर्दछन् । कारोबार गर्दा १३ प्रतिशत भ्याटसहितको बिल अनिवार्य काट्ने गरिएको साहले बताए । महानगरले फोहोर व्यवस्थापनको उचित प्रवन्ध गर्न सकेको छैन । जथाभावी फालिने शहरका सडक तथा चौकबाट फोहोर बाहकहरुले संकलन गरेर त्यसलाई व्यवसायीसम्म पु¥याउँदो व्यवस्थापनमा सहयोग पुग्ने गर्दछ ।

यसैगरी महानगरले छ वटा करचौकीका लागि आगामी वर्ष ५५ लाख ४५ हजारको निकासी कर उठाउन ठेक्का आह्वान गरेको छ । निकासी करका लागि भीमपथ कर चौकी वडा नम्बर ६, मिलनचौक करचौकी वडा १९, हाटखोला करचौकी वडा नम्बर ७, जामुनगाछी करचौकी वडा नम्बर ४, बजरंगवली करचौकी वडा नम्बर २ र राधाकृष्ण मार्ग वडा नम्बर १–२ को सीमामा निकासी करचौकीमार्फत संकलन गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्