विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा नयाँ भवन निर्माणको काम थाल्न दबाब दिने उद्देश्यले विद्यार्थी संगठनहरुले बिहीबार हस्ताक्षर संकलन गरेका छन् ।
क्याम्पसमा रहेका नेपाल विद्यार्थी संघ (नेबिसंघ) , अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (समाजवादी) को संयुक्त पहलमा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको हस्ताक्षर संकलन गरि क्याम्पस प्रशासनलाई बुझाएका छन् ।
राष्ट्रपति कार्यालयको सहयोगमा बन्ने भनिएको भवन एक वर्ष हुँदा समेत ठेक्का नलागेको भन्दै विद्यार्थी संगठनहरुले संयुक्त रुपमा क्याम्पस प्रशासन विरुद्ध प्रदर्शन गर्दै आइरहेका छन् ।
विद्यार्थी संगठनहरुले क्याम्पस प्रशासनका केहि व्यक्तिको स्वार्थ र प्राध्यापक संघको अन्यायोचित दबाबको कारण भवन निर्माणको काम नभएको आरोप लगाउदै आएका छन्।
नेपाल विद्यार्थी संघको क्याम्पस कमिटी अध्यक्ष जसवन्त पौडेलले क्याम्पसको नयाँ भवन बनाउने कार्य नहुन्जेल सम्म संयुक्त रुपमा आन्दोलन गर्ने विद्यार्थी संगठनको निर्णय बमोजिम क्याम्पस प्रशासनलाई विद्यार्थीहरुको हस्ताक्षर संकलन गरेर बुझाइएको बताए ।
विद्यार्थी संगठनका प्रतिनिधि तथा विद्यार्थीहरुले बुझाएको हस्ताक्षर क्याम्पस प्रशासनको तर्फ बाट सहायक क्याम्पस प्रमुख डा. सुशील कुमार अधिकारीले बुझेका थिए ।