विराटनगर । भाषा, धर्म र संस्कृति सभ्यतासँग जोडिएकाले आफ्नो भाषा र लिपी संरक्षणको लागि सबै पहल गर्नुपर्ने एक कार्यक्रममा सरोकारवाहरूले बताएका छन् ।
भातृ भाषा, संस्कृतिहरू लोप हुदै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनीहरूले यसको संरक्षणको लागि घरबाट अभियानको सुरू गरिनुपर्ने उनीहरूले बताएका हुन् । प्रदेश नं.१ को पर्यटन तथा संस्कृति मन्त्रालयले विराटनगरमा आइतबार साँझ आयोजना गरिएको नेवार जातिको भाषा लिपि संरक्षण सम्बन्धी गोष्ठीमा बोल्दै उनीहरूले भाषा संरक्षणको लागि पठन संस्कृतिमा विकास गरेर लैजानुपर्नेमा जोड दिएका हुन् । गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै नेपाल भाषा विभागका प्रमुख डा. राजनलाल जोशीले नेपालीहरुमा पश्चिमी संस्कृति भित्रीएको प्रति चिन्ता व्यक्त गर्दै उनले भातृभाषाको जर्गेना गर्न पठन संस्कृतिको विकास गरिनुपर्ने बताए ।
‘भाषा हराउनु भनेको हाम्रो संस्कृति र पहिचानसँगै सभ्यता हराउनु हो,’ उनले भने, ‘त्यही भएर भाषा संस्कृति र लिपिको संरक्षण गरिन भाषा प्रशिक्षण जरुरी रहेको छ ।’
भाषाले सुसंस्कृति बनाउने भएकाले यसको रक्षा गरेर लैजानुपर्ने उनले बताए । विद्यालय स्तरमा मातृभाषा लागु गरि संरक्षण गरेर लैजाउनुपर्ने उनले सुझाब दिए ।
कार्यक्रममा बोल्दै प्रदेश १ का पर्यटन तथा संस्कृति मन्त्री खिनु लुङवा लिम्बुले भाषा, लिपि र संस्कृति संरक्षणको लागि प्रदेश सरकार लागि परेको बताइन् । नेवारी भाषालाई प्रदेशमा बोलीचालीको भाषाको रुपमा लैजानुपर्नेमा जोड दिदै उनले मातृभाषा र लिपीलाई प्रयोगमा लैजानुपर्ने बताइन् । भाषा र लिपीलाई पठन संस्कृतिको रूपमा विकास गरेर लैजान प्रदेश सरकारले नीति पनि बनाएर अगाडी बढने उनले बताइन् ।
कार्यक्रममा नेवा मिसा दबुकी केन्द्रीय अध्यक्ष सरमीला प्रजापतिले मातृभाषा र लीपिको संरक्षण संस्थागत रूपमा गरेर लैजानुपर्नेमा जोड दिइन् । प्रदेश १ मा १ लाख ८४ हजार नेवार जातिको बसोवास रहेको उल्लेख गर्दै उनले मातृभाषाको संरक्षण र जगेर्नामा राज्यले पनि लगानी गरिनुपर्ने बताइन् । झपुच विराटनगरका संरक्षक राजन श्रेष्ठले मातृभाषा सम्पती भएकाले यसको संरक्षणमा सबै लाग्नुपर्नेमा जोड दिए ।
नेवा देबदुव मोरङका अध्यक्ष सुरेश श्रेष्ठले नेवार सामुदायको विशेष पर्व गाइजात्रामा प्रदेश सरकारले सार्वजानिक विदा दिन माग गरे । ‘काठमाण्डौंमा गाइजात्रामा विदा दिने गरेको छ । प्रदेश १ मा नेवार सामुदाय आठौं नम्बरमा आउँछ । नेवारको विशेष पर्व गाइजात्रा निस्किने भएकाले यस दिन यहाँ पनि प्रदेश सरकारले विदा दिनुपर्दछ ।