निर्माण सामाग्रीले अस्तव्यस्त विराटनगरका सडक

निर्माण सामाग्रीले अस्तव्यस्त विराटनगरका सडक

विराटनगर । विराटनगर–७ स्थित कोसी अस्पतालको नवनिर्मित भवन बाहिर मंगलबार प्र१–०२–००३ ह ४१०८ नम्बरको सिटी रिक्साको चक्कामा रड अड्कियो । चालकले रडको डंगुर छिचोल्दै गुडाएको सिटी रोकियो । केहिबेर त्यहाँ सवारीको जाम लाग्यो ।
सवार यात्रु ओर्लिएर रड निकाल्ने प्रयास गरे । सिटीलाई पछाडी सारियो । बल्ल रड निस्कियो र सिटी अगाडी बढ्यो । बङ्ग्याएको रड यात्रुले सडकमै छोडिदिए । केहिबेरमा अर्का एकजना आए । केहिबेर नियालेर सडकमा पासो थापिएझैं भएको रड उचाले । उनले रडलाई बङ्ग्याएर पुनः साविकको थुप्रोमा छोडे ।

कोसी अस्पतालको नयाँ भवन निर्माणाधिन चरणमा छ । भवन निर्माणका लागि भूमि कन्ट्रसक्नले ठेक्का लिएको छ । ठेकेदारले अस्पतालको भवन निर्माणको सामाग्री भने व्यस्त सडकमा थुपारेका छन् । थुपारिएको रडको डंगुरमा दैनिक साना सवारी अल्झन्छन् । सवारीमा उनिएर बङ्ग्याएको रड सडकका बीचमा पुगेर दुर्घटना पासो बन्छन् । निर्माण कम्पनीका कामदार वा प्रतिनिधिले हटाउँछन् ।

विराटनगर–५ बरगाछीस्थित राधारमण मन्दिर कोसी राजमार्गको रानी–धरान सडक पश्चिमतर्फ छ । राजमार्गबाटै मन्दिर परिसरमा प्रवेश गर्नुपर्ने हुन्छ । अहिले मन्दिरको पुरानो संरचना भत्काइएको छ । गेट बाहिर राजमार्गमा ढुंगा, गिट्टी र बालुवा थुपारिएको छ । नालामाथि रडका सामाग्री छन् । फुटपाथ बन्द छ । यात्रु हिड्न मिल्दैन । राधारमण मन्दिर कार्यालयका सचिव प्रल्हादराज अधिकारीले भने महानगरकै अनुमतिमा सामाग्री राखेको बताउनुभयो । तर, यसलाई महानगरका नगर प्रमुख राजन पौडेल अस्वीकार गर्दै तत्काल हटाउन निर्देशन दिइएको दावी गर्नुभयो ।

राष्ट्रिय राजमार्गलाई अवरोध हुने गरि राखिएका सामानलाई उडाउँदै ठूला सवारी गुड्छन् । आसपासमा धुलो उड्छ । राजमार्गलाई अव्यवस्थित र फोहोर बनाएको छ । दुर्घटनाको जोखिम पनि उतिकै देखिन्छ । ठेकेदारले भौतिक संरचना निर्माणका लागि सडकमा सामाग्री थुपारेर जोखिम निम्त्याएपनि त्यसलाई हटाउनु पर्छ भन्ने निर्देशन दिने निकाय सधैं मौन छ ।
विराटनगर–१० स्थित किरण पाउरोटी उद्योगले आफ्नो उद्योगको संरचना निर्माण गरिरहेको छ । उद्योगले सडकमै मसला मुछ्दै आएको छ ।
विराटनगर महानगरपालिका भित्रका सडकका जथाभावी निर्माण सामाग्री थुपारिँदा शहर कुरुप मात्रै नभई सडक अस्तव्यस्त छ । सार्वजानिक संरचना निर्माण गर्ने ठेकेदारदेखि निजी घर निर्माणकर्ताले समेत सामाग्री थुपार्ने स्थानको रुपमा सडक, नाला र फुटपाथ हुन् । थुपारिएको निर्माण सामाग्रीले सडक प्रयोगमा अवरोध पु¥याउँदै आएको छ । राजमार्ग होस् वा भित्री सडकमा थुपारिएका निर्माण सामाग्रीले दुर्घटना पनि निम्त्याएको छ ।

छलेन सडक आयोजना इटहरीका प्रमुख बद्रीप्रसाद शर्मा सडक पूर्वाधारमा राखिएका सामाग्री हटाउने जिम्मेवारी स्थानीय तहलाई हुने बताउनुहुन्छ । उहाँले बारम्बार राष्ट्रिय राजमार्गलाई पार्किङ्गस्थल र निर्माण सामाग्री थुपार्ने स्थान बनाउन नमिल्ने कुरा उठेपनि कार्यन्वयन गर्ने निकायले खासै चासो नदेखाएको बताउनुभयो । सडक ऐ्न २०३१ अनुसार कसैले पनि सडक, फुटपाथ र नाला अतिक्रमण गरे वा कुनै वस्तु राखेमा त्यसलाई जपथ गर्ने र त्यस वापत लाग्ने खर्च सम्बन्धित व्यक्तिबाटै असुल गर्ने प्रावधान रहेको शर्माले बताउनुभयो । तर, त्यो कार्यन्वयन गर्ने जिम्मेवारी सडकसँग सम्बन्धित कार्यालय नभई स्थानीय तह वा स्थानीय प्रशासन हुने शर्माको भनाई छ ।

विराटनगर महानगरपालिकाका नगरप्रहरी प्रमुख पौडेलले पछिल्लो समय सडकमा थुपारिएको सामाग्री हटाउन निर्देशन दिने काम भईरहेको जानकारी दिनुभयो । फृुटपाथ खाली गराउने अभियान अन्तर्गत पहिलो पटक सूचना दिने, कार्यालयमा बोलाउने र हटाउन निर्देशन दिन काम भईरहेको पौडेलको दावी छ । बारम्बार सचेत गराउँदा, निर्देशन दिदाँ नमानेको अवस्थामा सामान नियन्त्रणमा लिने काम पनि सुरु भईसकेको पौडेलले बताउनुभयो ।
नगर प्रहरीले एकसाता अगाडी विराटनगर–५ मुनालपथबाट राजमार्गमा थुपारेको एक टिपर गिट्टी उठाएको पौडेलले जानकारी दिनुभयो । त्यसपछि महानगरभित्रका सडकमा अनुगमन तिव्र पारेर सूचित गराउने अभियान चलाइएको छ । अहिले महानगरभित्रका सडकमा राखिएकामध्ये ६० प्रतिशत निर्माण सामाग्री हटेको दावी पौडेलले गनुृभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख राजकुमार कार्कीले सडकमा राखिएको निर्माण सामाग्रीका कारण दुर्घटनाको जोखिम बढेको बताउनुभयो । उहाँले स्थानीय तहले यसको नियन्त्रण गर्नुपर्ने बताउनुभयो । विराटनगरको सडक सुरक्षा कार्ययोजना अन्तर्गत पार्किङ व्यवस्थापन कार्ययोजना तयार भईरहेको कार्कीको भनाई छ । जिल्ला ट्राफिकले सडकमा हुने पार्किङलाई हटाउनका लागि कार्ययोजना निर्माण गरेर जिल्ला प्रहरीमार्फत स्थानीय प्रशासन समक्ष पेश गरेको उहाँले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्