विराटनगर । विराटनगर महानगरपालिका भित्र नेपाल विद्युत प्राधिकरण तथा नेपाल टेलिकमका पोल प्रयोग गरेर इन्टरनेट र केवल टिभीका तारले फुटपाथलाई अस्तव्यस्त बनाएपछि काट्न थालिएको छ । पोलमा लगाइएको तार व्यवस्थापनमा ध्यान नदिँदा झरेर फुटपाथमा हिड्ने यात्रुको ‘घँटेसी’ हुन थालेपछि त्यस्तो तारलाई नगर प्रहरीले काट्न थालेको हो ।
पोलमा तारेको पोको बनाएर राख्दा आगलागीको जोखिम समेत बढ्दै गएको छ । व्यवस्थित नहुँदा भुँईमा झरेर फुटपाथमा अल्झन बनेका तार नगर प्रहरीले काट्न थालेको महानगरपालिकाका नगरप्रहरी प्रमुख राजन पौडेलले जानकारी दिनुभयो । बिद्युतको पोल प्रयोग गरेर जथाभावी तानिएका तारले महानगरलाई कुरुप बनाएको छ । त्यति मात्रै नभई ‘लुज’ भएका तार भुँईसम्म आउँदा फुटपाथ प्रयोग गरेर हिड्ने यात्रुलाई अल्झाउने गरेको छ ।
महानगरका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतको निर्देशन अनुसार जथाभावी अव्यवस्थित बनेका तार काट्ने काम थालिएको नगर प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुभयो । यस अगाडी नेपाल बिद्युत प्राधिकरणले समेत पोल प्रयोग गरेको भाडा नबुझाएको भन्दै गत असोज १५ गते तार काटेको थियो । इन्टरनेट तथा केवल टिभीका सञ्चालकले पोलको भाडा बुझाउन आनाकानी गर्दा तार काटिएको थियो ।
महानगरपालिकाले अब पोलमा अव्यवस्थित भएर तार छोडेमा काट्न अभियान चलाउने भएको छ । महानगरलाई कुरुप बनाएका तारका गुन्टालाई व्यवस्थित गर्ने निर्णय समेत भएको पौडेलको दावी छ ।