विराटनगरमा स्रष्टा सम्मान कार्यक्रम : भित्र सम्मान, बाहिर विरोध

विराटनगरमा स्रष्टा सम्मान कार्यक्रम : भित्र सम्मान, बाहिर विरोध

विराटनगर । प्रदेश १ सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले वितरण गरेको स्रष्टा सम्मान कार्यक्रमको विराटनगरमा विरोध प्रर्दशन भएको छ । स्रष्टा चयनमा भेदभाव गरिएको भन्दै मैथिल भाषी संघसंस्थाका प्रतिनिधिले कालोपट्टि बाँधेर कार्यक्रमस्थलमा धर्नाप्रर्दशन सहित विरोध गरेका हुन् ।

प्रदेश एकको संस्कृति तथा पर्यटन मन्त्राललयले विराटनगरको हाटखोलामा रहेको आरोहण गुरुकुलमा मंगलबार बिहान साढे १० बजेदेखी स्रष्टा सम्मान कार्यक्रम राखेको थियो । मन्त्रालयले सो ठाउँमा भाषा, साहित्य,कला र संस्कृतिको क्षेत्रमा योगदान पु¥याउने प्रदेशभरिबाट छनौट गरिएका डेढ दर्जन बढी स्रष्टालाई सम्मान गर्ने कार्यक्रम राखेको थियो ।

तर कार्यक्रम शुरु हुनु अगावै मैथिल भाषी अभियन्ता र कलाकर्मीहरु गुरुकुल पुगेर मुलगेटमै धर्ना प्रर्दशन कार्यक्रम शुरु गरेका थिए । स्रष्टा सम्मान कार्यक्रममा विभिन्न भाषाका स्रष्टालाई सम्मान गर्न लागेको बेला ‘मैथिली’ भाषी स्रष्टा तथा सर्जकलाई वाईपास गरेको भन्दै मैथिली भाषा, कला र साहित्य क्षेत्रमाकाम गर्ने दर्जनौ संघसंस्थाका प्रतिनिधिहरु मुलगेटमै बसेर विरोध प्रर्दशन शुरु गरेका थिए ।
मैथली विकास अभियानका अध्यक्ष पंकज बर्माले भाषा आयोगले समेत मैथिलीलाई प्रदेशको कामकाजको भाषा बनाउने सिफारिस गरेको अवस्थामा मैथिल स्रष्टालाई नसमेटिनु दुर्भाग्यपुर्ण भएको बताउनुभयो । मैथिली सेवा समितिका महासचिव विपुलेन्द्र झाले पर्यटन मन्त्रालयको कार्यक्रमबाट मैथिल भाषीहरु स्पष्ट विभेदमा परेको दाबी गर्नुभयो ।

विरोधका कारण निर्धारित समय भन्दा झण्डै ३ घण्टा ढिलो मात्र सम्मान कार्यक्रम सुरु भएको थियो । विरोध प्रर्दशनका कारण समयमा मुख्यमन्त्री राजेन्द्र राईको उपस्थिति हुन नसकेपछि कार्यक्रममा ढिलाई भएको थियो । कार्यक्रममका प्रमुख अतिथी नआएपछि खाली रहेको मन्चमा विभिन्न सष्ट्राहरुले आ-आफ्नो कला प्रस्तुत गरेका थिए ।

आयोजक मन्त्रालयका संस्कृति तथा पुरातत्व शाखाका अधिकृत भेषराज न्यौपानेले आउँदा दिनहरुमा मैथिल स्रष्टाहरुलाई समेत समावेश गराउने पटकपटक प्रतिवद्धता जनाएपछि प्रदर्शनकारीहरु पछि हटेका थिए ।

मन्त्रालयका अधिकृत न्यौपानेको प्रतिबद्धतापछि प्रर्दशनकारीहरुले कार्यक्रम स्थगन गरेका थिए । प्रर्दशनकारीहरुले मुल गेट छाडेपछि बल्ल मुख्यमन्त्री राई कार्यक्रम स्थल आउनुभएको थियो ।

असन्तुष्ट पक्षले विरोध कार्यक्रम शुरुगर्नु अगावै पर्यटन तथा संस्कृति मन्त्री खिनु लुङवा लिम्बु भने कार्यक्रमस्थल प्रवेश गरिसक्नु भएको थियो । कार्यक्रममा प्रदेश १ सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले विभिन्न स्रष्टाहरुलाई सम्मान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्