विराटनगर । युकेमा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि विराटनगरमा शुक्रबारदेखि बृहत शैक्षिक मेला आयोजना हुने भएको छ ।
एसआई युके नेपालको आयोजनामा शैक्षिक मेला हुन लागेको हो । शैक्षिक मेलामा बेलायतका नाम चलेका १३ वटा विश्वविद्यालयका बारेमा विद्यार्थीहरूलाई जानकारी गराउने एसआइ युके नेपालले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । मेलामा ५ सय बढी विद्यार्थीको उपस्थिति हुने अपेक्षा रहेको एसआइ युके नेपालका निर्देशक विनय अधिकारीले जानकारी दिए ।
स्थानीय स्तरमा विद्यार्थीहरूलाई बेलायतका नाम चलेका विश्व विद्यालयहरूको बारेमा जानकारी दिनुको साथी उनीहरूलाई अध्ययनमा सहजता प्रदान गर्ने उद्देश्यले शैक्षिक मेला गरेको उनले बताए ।
‘अहिलेसम्म ३५० जना विद्यार्थीहरूले शैक्षिक मेलामा सहभागी हुनको लागि फारम लिएर गएका छन्,’ उनले भने, ‘यो शैक्षिक मेलामा बेलायतका विश्व विद्यालयको बारेमा विद्यार्थीहरूलाई सम्पूर्ण जानकारी दिनेछन् ।’ शैक्षिक मेला शुक्रवार ११ देखि ५ बजेसम्म हुनेछ । मेलामा विद्यार्थीहरूलाई छात्रवृत्ति पनि दिने निर्देशक अधिकारीले बताए ।
शैक्षिक मेलामा आउने विद्यार्थीहरूलाई बेलायतमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई ५ देखि ७ पाउन्डसम्म छात्रवृत्ति दिने उनले बताए ।
एसआई युके ग्लोबलका कार्यालयहरू विश्वका ४० वटा देशमा सञ्चालन छन् । एसआई युके ग्लोबल १ सय ५८ विश्वविद्यालयसँग आबद्ध भएर विगत १६ वर्षदेखि शैक्षिक सेवामा काम गरिरहेको छ ।