विराटनगर । विराटनगर-२ तिनपैनी चौक नजिकै रहेको नाङ्गलो मःम रेष्टुरेन्टमा बिहीबार भएको आगलागीबाट १ करोड बराबरको क्षति भएको बुझिएको छ ।
ग्यास लिकेजका कारण भएको आगलागीका कारण रेष्टुरेन्ट जलेर नष्ट हुँदा सो मूल्य बराबरको क्षति भएको प्रहरीको अनुसन्धानबाट खुलेको हो । आगलागीका कारण रेष्टुरेन्टभित्र भएको फर्निचर, किचन आईटम्स, एउटा स्कुटर र अन्य इन्टिरियर लगायतका सामानहरु जलेर नष्ट हुँदा करिब १ करोड बराबरको क्षति भएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ईश्वर बाँस्कोटाले सञ्चालन गरेको उक्त रेष्टुरेन्ट बाँसका सामाग्रीबाट निर्माण गरिएको थियो । जसकारण आगो सल्किएको आधा घण्टा नपुग्दै होटलमा पुर्ण रुपमा क्षति पुगेको थियो । आगलागी हुँदा होटल भित्र रहेका ६ वटा ग्यास सिलिण्डर समेत पड्किएको थियो । होटलमा भएको आगलागीका कारण उत्तरमा रहेको विनोद दुगड र दक्षिणमा रहेको अर्को पक्की घरमा समेत क्षति पुगेको थियो । दुवै घरको बाहिरी परिसरबाट भेट्ने जति सीसाका झ्याल जलेका थिए । ढिलोगरि आएको वारुणयन्त्रले आगलागी नियन्त्रणमा लिएको थियो ।
व्यस्त बजार र सुगमस्थलमा रहेको होटलमा आगो लाग्नासाथ स्थानीयले विराटनगरको वारुणयन्त्रलाई खबर गरेका थिए । तर, वारुणयन्त्र रेष्टुरेन्ट जलेर नष्ट भएपछि मात्र आएको थियो । होटलमा क्षति पुगेर आसपासका दुई घरमा आगो छिरिसक्दा मात्रै दमकल आएपछि आक्रोशित स्थानीयले विराटनगरका मेयर नागेश कोइराला विरुद्ध नाराबाजी समेत गरेका थिए ।