विराटनगर । मोरङको ग्रामथान–२ राजकुमारी टोलस्थित रवि आधारभूत विद्यालयमा चारसय बिद्यार्थी अध्ययनरत छन् । नर्सरी (बालकक्षा) देखि कक्षा ८ सम्म अध्यापन हुने विद्यालय सफा र सुन्दर छ । पाँच कठ्ठा क्षेत्रफलमा फैलिएको विद्यालय आकर्षक छ । विद्यालय भन्ने बितिकै सबै जाती र समुदायका बालबालिका अध्ययन गर्ने शैक्षिक थलो वा शिक्षाको मन्दिर भनेर चिनिन्छ । तर, ग्रामथान–२ को रबि आधारभूत विद्यालयका कक्षा नर्सरीदेखि ८ सम्म शतप्रतिशत दलित समुदायका विद्यार्थी मात्रै अध्ययनरत छन् ।
२०४५ सालमा स्थापना भएको विद्यालयको प्रध्यानाध्यापक जितेन्द्र सरदारका अनुसार सरदार, हरिजन र राम जाती बाहेकका विद्यार्थी छैनन् । नर्सरीमा मात्रै १२० जना विद्यार्थी भर्ना भएका छन् । मोरङमा एउटै विद्यालयको बालकक्षामा भर्ना हुने विद्यार्थीको संख्या सबैभन्दा बढी भएको दावी छ । २०७३ सालदेखि विद्यालय प्रअको भूमिकामा हुनु भएका सरदारका अनुसार अहिले प्रोत्साहन पाईरहेको विद्यालय रबि सरदारले जग्गा उपलब्ध गराएर स्थापना गरिएको थियो ।
आफ्नै बाजेले धर्मभकारी माँसेर विद्यालय स्थापना गरेको विद्यालयमा पतानीले प्रअको जिम्मेवारी पाउनु भएको छ । उहाँ त्यहि विद्यालयको पूर्व विद्यार्थी हुनुहुन्छ । आफूले जिम्मेवारी सम्हाल्दा अति न्यून संख्यामा मात्रै विद्यार्थी रहेकोमा स्थानीय तहको स्थापनापछि अभिभावकलाई सचेत गराउँदै भर्ना अभियान सञ्चालन गरिएको थियो । त्यसपछि विद्यार्थी संख्या बढेको हो । ग्रामथान–२, कटहरी गाउँपालिका–५, विराटनगर–१९ विद्यालयको सेवा क्षेत्र पर्दछ । जहाँ सरदार, हरिजन र राम जातीको बाहुल्यता रहेको छ ।
ग्रामथान–२ का वडा अध्यक्ष यादवप्रसाद खतिवडाका अनुसार विद्यालयमा आवश्यक भौतिक संरचना विस्तारको काम भईरहेको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत दुई कोठे पक्की भवन निर्माणको काम चलिरहेको छ । ग्रामथान गाउँपालिका भित्रका विद्यालयमध्ये राम्रो मानिन्छ, अध्यक्ष खतिवडाले भन्नुभयो–विद्यार्थीलाई प्रोत्साहनका लागि शतप्रतिशत निःशुल्क सुविधा प्रदान गरिएको छ । सबै किसिमका शैक्षिक सामाग्री, पोशाक, जुत्ता, ब्याग, खाजाका लागि आवश्यक बजेटको प्रवन्ध गरिदैं आएको अध्यक्ष खतिवडाले जानकारी दिनुभयो ।
विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि निजी स्रोतबाट तीनजना शिक्षक राखिएको छ । दरबन्दीका स्थायी शिक्षक चारजना छन् । राहत एकजना, करार २ जना र बाल शिक्षक दुईजना रहेको अध्यक्ष खतिवडाले जानकारी दिनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मनोजकुमार साहका अनुसार दलित समुदायका शैक्षिक सुधारमा राम्रो मानिएको विद्यालय स्थानीय तहको कार्यक्रममा प्राथमिकतामा पर्दै आएको छ । आगामी आर्थिक वर्षको बजेटमा विद्यालयको शैक्षिक सुधारलाई थप मजबुत बनाउने योजना ल्याईने उहाँले बताउनुभयो । ग्रामथान गाउँपालिका भित्र २८ वटा सामुदायिक विद्यालय रहेका छन् ।