विराटनगर । विराटनगर महानगरपालिकाले निकासी कर संकलनका लागि खुलाएको बोलपत्र मिलेमतो गरि ठेक्का लगाएको आरोप लागेको छ । महानगरले छ वटा करचौकीका लागि ५५ लाख ४५ हजारको निकासी कर उठाउन ठेक्का आह्वान गरेको थियो । ८७ लाख रुपिँयामा बिट भएको छ । तर, दर्ता भएको एउटा फारम लुकाएको भन्दै सम्बन्धित व्यक्तिले गुनासो गरेका हुन् ।
रोनाल कँडेलले पूर्वाधार उपयोग सेवा शुल्कका लागि दर्ता गरेको फायल महानगरपालिका भित्रैबाट गायब बनाएर बाँकी फर्मको मूल्यांकन गरिएको आरोप लगाइएको छ । विराटनगर–११ का कँडेलले साउन १ गते दर्ता गरेको फायल हराएको भन्दै बाँकी फर्मबाट मूल्यांकन गरेको आरोप लगाएका हुन् । महानगरले पूर्वाधार उपयोग सेवा शुल्क वापत निकासी कर असुलका लागि ठेक्का खोलेको थियो ।
विराटनगर महानगरपालिका राजश्व महाशाखाका प्रमुख सरोज गौतमले भने कँडेलले गलत मनसाय राखेको आरोप लगाएका छन् । फमदर्ताको अन्तिम प्रक्रियामा पुगेपछि दर्तै नगरी बाहिर निस्केको र भोलिपल्ट दर्ता गर्ने भन्दै बाहिर निस्केर अन्य फमसँग बार्गेनिङ गरेको आरोप छ । कँडेलले टेण्डर बिट गर्नका लागि बैंक धरौटी समेत नराखेकोले गलत मनसाय झल्कने प्रष्ट देखिएको आरोप छ । कँडेलले ठेक्का पारेका व्यक्तिलाई असजिलो बनाएर पैसा असुल गर्न खोजेको भन्दै त्यसका लागि कडा कदम चालिने दावी गरिएको छ ।
भीमपथ कर चौकी वडा नम्बर ६, मिलनचौक करचौकी वडा १९, हाटखोला करचौकी वडा नम्बर ७, जामुनगाछी करचौकी वडा नम्बर ४, बजरंगवली करचौकी वडा नम्बर २ र राधाकृष्ण मार्ग वडा नम्बर १–२ को सीमामा निकासी करचौकीमार्फत संकलन गरिने छ । गत आर्थिक वर्ष ५५ लाख रुपिँयामा ठेक्का लगाइएको थियो । चालु आर्थिक वर्षका लागि ८७ लाख रुपैँयाको ठेक्का सदर भएको छ ।