विराटनगर । प्रहरीले एकवर्षको अवधीमा ८ हजार ५५ वटा मुद्दा दर्ता गराएको छ । प्रदेश १ प्रहरी मातहतका कार्यालयहरुले ३९ करोड २१ लाख राजश्व संकलन गरेको छ ।
आर्थिक वर्ष २०७८-२०७९ मा प्रदेश प्रहरी तथा १४ जिल्ला कार्यालयमा अपराधिक घटना, फैसला कार्यन्वयन, भन्सार चोरी निकासी र पैठारी, नदीजन्य पदार्थको अवैध दोहन, अवैध काठ चोरी निकासी, ट्राफिक व्यवस्थापन शिर्षकमा दर्ता भएकामध्ये ३ हजार १७७ वटा मुद्दा फस्र्यौट गरिएको छ । प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नविनराज राईका अनुसार एकवर्षको अवधीमा एकहजार ७३८ जना फरार प्रतिवादी पक्राउ गरिएको छ । जसबाट ८ करोड ७ लाख ६७५ रुपिँया राजश्व संकलन भएको छ ।
यसैगरी अवैध भन्सार चोरी निकासी गर्ने ७३ जना व्यक्ति पक्राउ गरिएको छ । यस्तो कार्यमा संलग्न व्यक्ति तथा बरामद सामानबाट ११ करोड ७४ लाख ४६ हजार ९२९ रुपिँया राजश्व संकलन भएको प्रहरी उपरीक्षक राईले जानकारी दिनुभयो । यसैगरी नदिजन्य वस्तुको अवैध दोहन रोक्ने क्रममा ३७ जना व्यक्ति ६४५ सवारी साधन नियन्त्रणमा परेका छन् । यसबाट ३३ लाख ३१ ह्जार ५०० राजश्व संकलन भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । अवैध काठ चोरी निकासीमा संलग्न ४७ जना व्यक्ति नियन्त्रण तथा ४ हजार ६४८ क्यू.फिट.काठ बरामद गरिएको छ । प्रहरीले नियन्त्रण लिइएको उक्त व्यक्ति र परिमाणबाट एक करोड ४ लाख ५३७ रुपिँया राजश्व संकलन भएको जनाइएको छ ।
प्रदेश १ का १४ जिल्लामा ट्राफिक व्यवस्थापन तथा कारवाहीका क्रममा २ लाख २ लाख ६९ हजार ८२३ वटा सवारी साधान कारवाहीमा परेका छन् । एकवर्षको अवधीमा कारवाहीबाट १८ करोड १ लाख ५९ हजार राजश्व संकलन भएको छ । यसैगरी लागूऔषध नियन्त्रणतर्फ गाँजा २ हजार २१ केजी, ब्राउन सुगर २ केजी ४५ मिलिग्राम, मनोद्धिपक क्याप्सुल ३१ ह्जार ९७० थान, मनोद्धिपक एम्पुल १० हजार २६५, मनोद्धिपक औषधी ७६९ क्याप्सुल बरामद गरिएको छ । एकवर्षको अवधीमा ४ हजार ८२१ रोपनी क्षेत्रफलमा लगाइएको गाँजा नष्ट गरिएको उल्लेख छ ।
एकवर्षको अवधीमा प्रहरी कार्यतर्फ उत्कृष्ट एकहजार ८६४ जना पुरस्कृत भएका छन् । प्रहरीको आधारण विपरित कार्य गरेको भन्दै ४२८ जनालाई विभागिय कारवाही गरिएको छ ।