कहाँबाट आयो विराटनगरमा पक्राउ परेको सुपारी

कहाँबाट आयो विराटनगरमा पक्राउ परेको सुपारी

भातरले पैठारी अनुमति दिएपछि, उत्पादन परीक्षण गराउने प्रहरीको तयारी
विराटनगर । विराटनगर–१४ बाट बिहीबार राती १०ः३० बजे नियन्त्रणमा लिइएको ८ ट्रक सुपारी नेपालको उत्पादन हो वा बाहिरको भन्ने यकिन गरेर मात्रै छोडिने भएको छ । नेपालबाट निकासी प्रक्रिया सकेर इण्डियन कस्टमले समेत पैठारी स्वीकृत दिएको सुपारी रि–रुट गर्ने क्रममा मोरङ प्रहरीले नियन्त्रणमा लिइएको हो ।

गत असार २६ गते विराटनगर भन्सारले ११३ रुपिँया निकासी महसुल लिएर सुपारी चाँजपास गरेको थियो । भारतीय कष्टमले दश दिनसम्म सुपारी होल्ड गरेपछि जुलाई २२ तारिखमा २७ लाख ५० हजार भारतीय रुपैँया बुझाएपछि सेतुबन्ध नाकाबाट निकासी गर्ने अनुमति दिइएको देखिन्छ । भारतको मिरगञ्ज पुल भत्केपछि नयाँ पुल बनेपनि त्यहाँबाट सवारी आवात–जावत गर्न अनुमति नभएपछि आयात–निर्यातका लागि रि–रुट गर्नुपर्ने बाध्यता छ । त्यसैको फाइदा उठाएर दुवै भन्सारमा जाँचपास भएको सुपारी प्रहरी नियन्त्रणमा परेको हो ।

मनकामना ट्रेडर्सको नामबाट निकासी गरिएको सुपारी नविन घिमिरेको हो । उनी सम्पर्कमा आउन चाहेनन् । विराटनगर भन्सार कार्यालयका भन्सार एजेन्ट किशोर शाहीले सुपारी भन्सार क्लियरेन्स गराउनु भएको हो । नेपाल सुपारी विकासको सिफारिस र एफनसीसीआईको सिफारिस समेत संलग्न राखिएको छ ।

आठवटा ट्रकमा २ हजार ६७८ बोरा सुपारी २ लाख १९ हजार ५९६ केजी रहेको छ । यसको भारतीय मूल्य ५ करोड ३९ लाख ८८ हजार ४८० हुन आउँछ । भारतीय नम्बर यूपी ४५ टी १६२४, एमपी ०९ एचजी ८३२०, एमपी २२ एच १०३१, यूपी ५० बिटी ७१७७, यूपी ६२ बिटी ८१२१, यूपी ५४ टि ६४२९, यूपी ५० एटी ३१५८ र यूपी ६२ सिटी ०६२७ नम्बर प्लेटका ट्रक प्रहरीले नियन्त्रणमा लिइएको छ ।

मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक राजन कार्कीले सुपारी उत्पती सर्टिफिकेटका आधारमा मात्रै नभई उत्पादनका आधारमा यकिन गर्नुपर्ने देखिएको बताउनुभयो । यसका लागि कहाँको उत्पादन भन्ने परीक्षण गर्नुपर्ने अवस्था आएकोले नियन्त्रणमा लिइएको बताउनुभयो । तर, भन्सार क्लियरेन्स एजेन्ट शाहीले भने यस अगाडी यहि प्रक्रियाबाट ८० गाडी सुपारी निकासी भईसकेको दावी गर्नुभयो । पछिल्लो पटक सबै कानुनी प्रक्रिया पूरा गरेर रि–रुटमा रहेको सुपारी नियन्त्रणमा लिएर प्रहरीले कानुन विपरित काम गरेको आरोप लगाउनुभयो ।

प्रहरीले तेस्रो मुलुकबाट आयात गरेको सुपारी नेपाली उत्पादन बनाएर निर्यात गरेको हुनसक्ने दावी गरेको छ । भारतीय कस्टम कार्यालय जोगबनीका अधिकारीले भने नेपाल प्रहरीको यो कार्यप्रति आपत्ति जनाएका छन् । उनीहरुले प्रहरीलाई शंका लागे नेपाली भन्सारमै हुँदा सुपारी नियन्त्रणमा लिनुपर्नेमा भारतीय कष्टम अफिसको स्वीकृतिपछि नियन्त्रणमा लिइएको भन्दै आपत्ति जनाएका हुन् ।

प्रहरीले भने सुपारी निर्यातकर्ता समेत नक्कली हो की भन्ने आशंका गरेको छ । कानुनी रुपमा मनकामना ट्रेडर्स नविन घिमिरेको देखिएपनि यो सुपारी अन्य पहँुचवाला कारोबारीको हुनसक्ने आशंका गरिएको छ । जुन फर्मबाट निर्यात भयो, त्यो फर्मले यस अगाडी कारोबार गरेको वा नगरेको पनि यकिन गर्नुपर्नेछ, प्रहरी नायव उपरीक्षक कार्कीले भन्नुभयो–कारबोर फर्म नै नक्कली हुन पनि सक्छ । प्रहरीले भारतको भन्सारमा धेरै दिनसम्म सुपारी रोकिनुको कारण समेत खोजी गर्ने भएको छ । नत्र असार २६ मा विराटनगर भन्सारमा जाँचपास भएर जोगबनी कस्टम पुगेको सुपारी यतिका दिनसम्म कसरी रह्यो भन्ने आशंका प्रहरीले गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्