के गर्ने मै अल्झियो विराटनगरको आकाशे पुल

<span class='c1'>के गर्ने मै अल्झियो</span> <span class='c2'>विराटनगरको आकाशे पुल</span>

विराटनगर । विराटनगरका तीन स्थानमा निर्माण गर्ने भनिएको आकाशे पुल शिलन्यास भएको १७ महिनासम्म पनि बन्न सकेन । दुई करोड ४७ लाख रुपिँयाको लागतमा ‘स्टिल स्ट्रक्चर’ का तीनवटा फ्लाई ओभर निर्माण गर्न ठेक्का सम्झौता भएको थियो ।

कला बिल्डर्सले बरगाछी र घाँसचौकमा आरके बिल्डर्सले कन्चनबारीमा आकाशे पुल निर्माण गर्ने सम्झौता गरिएको थियो । सम्झौता अनुसार २०७७ साल चैतमा तत्कालिन मेयर भीम पराजुलीले एकैदिन तीन आकाशे पुल निर्माणको शिलन्यास गर्नु भएको थियो । तर, पराजुलीको कार्यकाल सकिएर नयाँ जनप्रतिनिधि आउँदा पनि आकाशे पुल निर्माण गतिरोध अन्त्य हुन नसकेको हो । निर्माण कम्पनीले २०७८ भदौमा आकाशे पुल निर्माणको काम थालेका थिए ।

स्थान छनौट, ढाँचा र स्थानीयको आवश्यकतालाई नबुझि योजना निर्माण गर्दा विराटनगरमा बन्ने भनिएका आकाशे पुल के गर्ने मै अल्झिएको हो । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले अब १५ दिनभित्रमा आकाशे पुलको ठेक्का सम्झौता खारेजी गर्ने की निर्माण गर्ने भन्ने विषय टुङ्ग्याउने बताउनुभयो । उहाँले कन्चनबारीमा आकाशे पुल निर्माणमा रोक लगाउनु पर्ने भन्दै स्थानीयवासीले उच्च अदालत मोरङमा मुद्दा दर्ता गरेको, बरगाछी र घाँसचौकका स्थानीयले निर्माण गर्नुनपर्ने बताउँदै आएकोले आवश्यकता महसुश नभएको बताउनुभयो ।

नागरिकले महसुश नगरेको विकास महानगरले गर्ने की नगर्ने भन्ने दोधारमा छौं, प्रमुख कोइरालाले भन्नुभयो–यसको विषयमा एकपटक बोर्ड बैठकमा छलफल गर्ने योजना बनाएको छु । स्थानीय तह निर्वाचतनको मिति घोषणापछि कन्चनबारीमा आकाशे पुल निर्माण कार्य थालिएको थियो । तर, त्यसयता केहि काम समेत गर्न नमिल्ने स्थिति आएको आरके बिल्डर्सका रमेश कार्कीले बताउनुभयो । कला विल्डर्सका सञ्जय यादवले सम्झौता गरेको योजना अगाडी बढाउने भए निर्माणस्थल यकिन गर्नुपर्ने नत्र सम्झौता खारेज गरेर बाटो खोल्नुपर्ने बताउनुभयो ।
महानगरका जनप्रतिनिधिले आकाशे पुल निर्माणलाई प्राथमिकतामा राखेका छैनन् । कारण, आकाशे पुल निर्माण कार्य विरुद्ध आफैं उजुरी हाल्ने व्यक्ति नै अहिले महानगरको प्रमुख पदमा निर्वाचित छन् । तत्कालिन समयमा आफ्नो जग्गा अगाडी परेको भन्दै विराटनगर बसपार्क दक्षिण निर्माण सुरु गरिएको काम अहिलेका प्रमुख कोइरालाले नै रोकेको आरोप छ । कोइरालाले नै विराटनगर महानगरपालिकाको ध्यानाकर्षण गराउँदै आकाशे पुल निर्माण विरुद्ध उजुरी दिनुभएको थियो ।

ठेकेदार कम्पनीले सम्झौता खारेजी गरेर बाटो खुलाउनु पर्ने तर अहिलेसम्मको लागत भुक्तानी हुनुपर्ने माग गरेका छन् । तर, महानगरले काम नै नभएको योजनाको रकम निकासा दिनसक्ने अवस्था छैन । स्टिल स्ट्रक्चरको संरचना २५ मिटर लम्बाई, ५.५ मिटर उचाईको हुने डिजाइनमा उल्लेख छ । एक ठाउँबाट अर्को ठाउँमा सार्न समेत सकिने गरि बरगाछीमा दुई स्टेयर र कन्चनबारीमा चार स्टेयरको आकाशे पुल निर्माण गर्ने योजना रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्