विराटनगर–वथनाह अन्तर्गत आईसीपीसम्म रेल सञ्चालन गर्न भारतीय पक्ष तयार

विराटनगर–वथनाह अन्तर्गत आईसीपीसम्म रेल सञ्चालन गर्न भारतीय पक्ष तयार

विराटनगर । भारतको बथनाहा–कटहरी रेल–वे विस्तार योजना अन्तर्गत विराटनगर–१८ बुधनगरको नेपाल कष्टम यार्डसम्म कार्गोरेल सञ्चालनमा ल्याउन भारतीय पक्ष तयार देखिएको छ । नेपालले प्रशासनिक प्रक्रिया पूरा गरे सम्झौता अनुसार सम्पन्न एकतिहाई दुरीमा कार्गो रेल ल्याउन सकिने भारतीय पक्षले जनाएको हो ।

उद्योग संगठन मोरङमा आइतबार भएको छलफलमा भारतीय रेल–वे कटिहार डिभिजनका डिभिजनल मेनेन्जर एस.के चौधरीले नेपाल रेल–वे विभागले आयोजना सम्पन्न क्षेत्रमा सञ्चालन अनुमति दिए भारतीय पक्ष त्यसमा तयार हुने बताउनु भएको हो । त्यसका लागि नेपाली पक्षले कानुनी प्रक्रिया पूरा गरेर भारतसँग निर्माण सम्पन्न दुरीमा कार्गो रेल सञ्चालन अनुमति दिनुपर्ने डिभिजनल मेनेन्जर चौधरीको आग्रह थियो ।
छलफलमा उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले मिरगंज पुलमा आएको अवरोधले गर्दा मालवाहक सवारीका साधन रिरुट गरी ल्याउनु पर्ने अवस्थाको अन्त्य गर्न कार्गोरेल सञ्चालनका लागि सहयोग गरिदिन आग्रह गर्नु भएको थियो । मालवाहक रेल संचालनमा ल्याउन भारत र नेपाल पक्षका अधिकारीले उतिकै चासो राख्नुपर्ने माग गर्नु भएको थियो ।

डिभिजनल मेनेन्जर चौधरीले परियोजना सम्झौता अनुसार १८ दशमलव ६ किलोमिटर लम्वाई भएको वथनाह विराटनगर रेल्वेको काम सकिएको क्षेत्रमा सञ्चालन गर्नसकिने निर्णय जरुरी हुने बताउनु भएको थियो । यदि प्रशासनिक र कानुनी प्रक्रिया गरेर आए एक महिना भित्रै रेल ल्याउन भारतीय पक्ष तयार रहेको चौधरीको दावी थियो । जोगबनीमा रेल्वे रिपेयरिङ सेन्टरको निर्माणका लागि भारतीय रेल्वे मन्त्रालय समक्ष आवश्यक वजेटका लागि अनुरोध गरेको जानकारी दिदै उक्त सेन्टरको निर्माण पश्चात अन्य स्थानका लागि नयाँ प्यासेन्जर रेल थप्ने तयारी समेत भईरहेको उहाँले जानकारी दिनुभयो ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोईरालाले दुई देशको व्यापार विस्तारका लागि महत्वपूर्ण कार्गो रेल संचालनमा ल्याउन महानगरपालिकाले पनि आवश्यक सहयोग गर्नसक्ने बताउनु भएको थियो । उहाँले कष्टम यार्डबाट आईसीपीसम्म पुग्ने पहुँच मार्गका लागि महानगरले आवश्यक बजेट दिनसक्ने बताउनु भएको थियो । त्यसका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत इन्टरमोडलसँग सहकार्य गर्न तयार रहेको मेयर कोइरालाले बताउनु भएको थियो ।

विराटनगर भन्सारका प्रमुख भन्सार अधिकृत ताराप्रसाद सापकोटाले मीरगञ्ज पुलका कारण आयात–निर्यातमा समस्या भईरहेकोले आवश्यक प्रवन्ध जरुरी रहेको बताउनु भयो । उहाँले व्यापार सहजीकरणका लागि दुवै पक्षले हतार गर्नुपर्ने देखिएकोले नेपाल रेल विभागले बढी चासो राख्नुपर्ने बताउनुभयो ।

छलफलमा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले निर्माणको क्रममा देखिएका वाधाहरु समाधानमा मोरङ प्रशासनको तर्फबाट पूर्ण सहयोग रहने वताउनु भएको थियो । नेपालको रेल विभागका ईन्जिनियर रोशन कुमार देवले दुवै देशका प्राविधिक टोलिले निर्माणधिन परियोजनाको प्राविधिक पक्ष परीक्षण गरी अन्य प्रशासनिक प्रकृया पुरा गर्न केहि समय लाग्ने बताउनुभयो । उहाँले दुई देशका सरकारबीच भएको सम्झौता पुर्नरावलोकन गर्नुपर्ने भएकोले त्यसका लागि समय लाग्ने बताउनु भएको थियो । मूल सम्झौतामा १८.६ किलोमिटर रेल–वे निर्माण गर्ने भनिएकोले सञ्चालनमा आउने ७ किलोमिटर दुरीबाट दुई देशमा छलफल र पुनरावलोकन हुनुपर्ने इन्जिनियर देवको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्