एसईई नतिजा बुधबार सार्वजनिक गर्ने तयारी

एसईई नतिजा बुधबार सार्वजनिक गर्ने तयारी

काठमाडौं ।  २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बुधबार सार्वजनिक गर्ने तयारी भएको छ । परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीका अनुसार नतिजा भोलि सार्वजनिक गर्ने तयारी भएको छ ।

साउन पहिलो हप्ता नतिजा प्रकाशित गर्ने लक्ष्य लिए पनि रुजुको काम नसकिएकाले दोस्रो हप्ता धकेलिएको हो । विगतका वर्षमा विद्यार्थीको सिम्बोल नम्बर, जन्ममिति, नामथरलगायत विवरणमा धेरै त्रुटि भएर उनीहरुले सच्याउन दु:ख पाउने गरेकाले नतिजाअघि नै अधिकतम जाँच गर्न लागिएको उनले जनाए । विवरण फरक परे सच्याउन देशभरका विद्यार्थी भक्तपुर सानोठिमीस्थित कार्यालयले आउनुपर्ने बाध्यता छ ।

यसपटक कोभिड महामारीको दुई वर्षपछि बोर्डले नै एसईई परीक्षा सञ्चालन गरेको थियो । कोभिडका बेला आन्तरिक मूल्याङ्कनका आधारमा विद्यार्थीको नतिजा बोर्डले प्रमाणित गरेको थियो । ५ लाख १४ हजार ७ सय ६० जना विद्यार्थीले यो वर्ष देशभरका २७ सय परीक्षा केन्द्रबाट परीक्षा दिएका छन् । त्यसमध्ये जापानको १ परीक्षा केन्द्रबाट २० जना विद्यार्थीले एसईई दिएका छन् । वैशाख ९ गतेदेखि सुरु भएको परीक्षामा ११ हजार ६ सय १५ विद्यालयका विद्यार्थीले परीक्षा दिएका थिए । बोर्डले असार मसान्तभित्रै नतिजा प्रकाशित गर्ने लक्ष्य लिए पनि स्थानीय तहको निर्वाचन, बाढी पहिरोलगायत कारणले केही दिन ढिला हुन पुगेको जनाएको छ । नतिजा सार्वजनिक भएको एक/दुई हप्तामा विद्यार्थीका हातमा लब्धाङ्कपत्र अर्थात मार्कसिट पुग्नेछ ।

परीक्षा नियन्त्रक रायमाझीले नतिजा सार्वजनिक भएको एक महिनाभित्र ग्रेड वृद्धिको परीक्षा सञ्चालन गरिने जानकारी दिए । एसएमएसबाटबाट नतिजा थाहा पाउनका लागि प्रयोग हुने सर्टकोडहरू ३५००१, ३४९४९, ३१००३१६०० वा www.see.gov.np मा गएर आफ्नो सिम्बोल नम्बर राखेर पनि नतिजा थाहा पाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्