विराटनगर । व्यक्तिगत घटना दर्ता प्रभावकारी नहुँदा विराटनगर महानगरपालिकाले मृतकका नाममा समेत सामाजिक सुरक्षा भक्ता भुक्तानी गरेको पाइएको छ । महालेखा परीक्षक कार्यालयको आर्थिक वर्ष २०७७÷२०७८ को प्रतिवेदनले विराटनगर महानगरपालिकाले मृतकका नाममा समेत रकम भुक्तानी गरेको देखाएको हो ।
विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उमेश बस्नेतले यो नागरिकका कारण समेत यस्तो भएको दावी गर्दछन् । उनले मृत्यु पश्चात वडामा मृत्यु दर्ता गराउनु पर्ने प्रावधान तत्काल कार्यन्वयन नहुँदा मृतकको नाममा रहेको बैंक खातामा रकमान्तर भएर गएको दावी गरेका छन् ।
भक्ता खाईपाई आउको लाभग्राहीको मृत्यु भएमा त्यहि दिनसम्मको भत्ता निजको हकवालाले बुझ्न पाउने प्रावधान सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधी २०७७ मा उल्लेख छ । कार्यविधीको बुँदा नम्बर १५ मा यस्तो व्यवस्था भएपनि मृत्यु भएका लाभग्राहीले पाउने भन्दा बढी रकम बैंकमा दाखिला भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । यसरी मृत्युपश्चात पछि भत्ता पाउनेको संख्या २६६ रहेको छ । महानगरपालिकाले १६ लाख नौ हजार एकसय रुपैँया भुक्तानी गरेको छ ।
मृतकका नाममा सामाजिक सुरक्षा भत्ता दाखिला मात्रै नभई एकैजना व्यक्तिको नाममा फरक–फरक बैंकमा रकम भुक्तानी भएको समेत महालेखाको प्रतिवेदनमा उल्लेख छ । दोहोरो भुक्तानी पाउनेमा १२४ जना छन् ।
प्रमुख प्रशासकिय अधिकृत बस्नेतले लाभग्राहीको लगत अद्यावधिक गरेपछि त्यो समस्या नरहेको दावी गरे । बैंकमा व्यक्तिगत खाता दोहोरो परेका लाभग्राहीबाट यकिन गरेर मात्रै निकासा दिने प्रणाली लागु गरिएको बस्नेतको भनाई छ । महानगरपालिकाले एकै शिर्षकमा दोहोरो भुक्तानी दिइएको रकम १० लाख ७५ हजार ८८७ रुपिँया रहेको छ । तत्कालिन मेयर भीम पराजुली भएको बखतको यो प्रतिवेदनले महानगरपालिका भित्र बेथिति रहेको देखाएको छ ।