विराटनगर । विराटनगर महानगरपालिकाले इन्धन र सवारी मर्मतमा गरेको खर्च आशंकापूर्ण देखिएको छ । महानगरपालिकाले निजी इन्धन व्यवसायीसँगको मिलेमतोमा खपत नै नभएको इन्धनको बील बनाएको आशंका उब्जाएको हो ।
महालेखा परीक्षक कार्यालयको आर्थिक वर्ष २०७७÷२०७८ को प्रतिवेदनमा एकवर्षमा ८६ लाख ६७ हजार १०५ रुपैँया इन्धनमा खर्च भएको उल्लेख छ । यसैगरी सवारी साधन मर्मतमा ५० लाख ९४ हजार ५०६ रुपौया छ । महालेखाको प्रतिवेदनमा खर्च मापदण्ड मिचेको उल्लेख गरेको छ ।
सार्वजानिक खर्चको मापदण्ड कार्यविधी र मितव्ययिता सम्बन्धि निर्देशिका २०७५ मा खर्चमा एकरुपता ल्याउन मापदण्ड बनाएर प्रयोगमा ल्याउनुपर्ने व्यवस्था छ । तर, महानगरपालिकाले सवारी साधनको किसिम, इन्धन खर्च र मर्मत खर्चमा मनपरी रकम निकासा गरेको देखिएको छ ।
तत्काल मेयर भीम पराजुली हुँदा कार्यलय प्रयोजनमा ५४ लाख ६७ हजार १०५ र पदाधिकारीका लागि २८ लाख ९९ हजार ९९९ रुपैँया खर्च भएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सवारी साधन मर्मतमा ५० लाख ९४ हजार ५०६ रुपैँया र मेसिनरी औजार मर्मतमा १२ लाख ९८ हजार १७९ खर्च भएको उल्लेख छ । यसरी गरिएको खर्चको कुनै अभिलेख नराखिएकोले आशंका जन्माएको छ । महानगरपालिका भित्र बेथिती रहेको सार्वजानिक रुपमा आलोचना हुने गरेको थियो । तत्कालिन महानगरका प्रमुखको नेतृत्व रहेकै बेलाको प्रतिवेदनले त्रुटी देखाएको हो ।