सामान्य दुर्घटना : गाडी मर्मतमा ग्यारेजमै डुब्छ घरजग्गा

सामान्य दुर्घटना : गाडी मर्मतमा ग्यारेजमै डुब्छ घरजग्गा

विराटनगर । गत जेठ १८ गते कोसी लोकमार्गस्थित धनकुटाको सिम्सुवामा दुईवटा गाडी एकआपसमा ठोकिए । सामान्य दुर्घटनामा सघन सहरी भवन आयोजना धनकुटाको प्रदेश ३.०१–००२ झ ५१६४ नम्बरको गाडीलाई धरानका राधेश्याम साहको को १ च ८४१५ नम्बर पिकअप गाडीले ठक्कर दिएको थियो ।

आयोजनाको गाडीमा ड्राइभर साइडतर्फ दाहिने भाग पट्टीको चक्का, टायर फुट्यो, डिस बाङ्गियो, हेड लाइट, पार्किङ्ग लाइट, मोटर गार्ड फुट्यो, बम्फर र बोनटमा सामान्य क्षति पुगेको थियो । दुर्घटनापछि प्रहरी चौकी मूलघाटमा दुवै पक्षबीच भएको सहमतिमा पिक अपका धनी साहले आयोजनाको गाडी मर्मत गर्ने सहमति गरिएको थियो । पिक अपको समेत अगाडीको भागमा बोनट, हेडलाइट, क्याविनमा क्षति पुगेको थियो ।

दुर्घटनापछि प्रहरी चौकीमा भएको सहमति अनुसार धनकुटाबाट आयोजनाको गाडी मर्मतका लागि विराटनगर बसपार्क नजिकै रहेको श्री महालक्ष्मी ट्रेडिङ्गमा ल्याईयो । धनकुटाबाट चालकले कुदाएरै गाडी ग्यारेजमा ल्याएका थिए । दुर्घटना भएको जेठ १८ गते गाडी ग्यारेजमा ल्याईसकेपछि १९ गते पिक अप धनी राधेश्याम साहसँग महालक्ष्मीले गाडीमा लाग्ने सामानको लिस्ट र दररेट थमायो । जस अनुसार पाँचलाख ५० हजार रुपिँया लाग्ने जानकारी गरायो । शर्तअनुसार १९ र २० गते गरेर साहले पाँचलाख रुपिँया जम्मा गरेका थिए ।

मर्मतपछि असार १ गते महालक्ष्मीले गाडी सात दिनका लागि ‘टेस्ट ड्राइभ’का लागि दियो । आयोजनाका चालक श्यामबहादुर रानाले तीन नम्बर गियर बक्समा समस्या रहेको ‘कम्प्लेन’ गरे । फ्रोर्ड रेन्जरको गाडी भएकोले फोर्डकै शो–रुममा गाडी लगियो । तर, समस्या सामान्य भएको भनेपछि गाडी आयोजनाले लग्यो । दुर्घटना भयो, शर्तअनुसार गाडी पनि बन्यो । तर, सामान्य क्षति भएको गाडीको मर्मतका लागि ५ लाख रुपैँया बुझाएका साहलाई कसरी यति महंगो ? भन्ने चिन्ता लाग्यो । साहले तेस्रो पक्ष इन्स्योरेन्स लुम्बिनी जनरल कम्पनी लि.बाट गराएका थिए । ग्यारेजमा पाँच लाख बुझाईसकेका साहले अझै एकलाख रुपैँया बुझाउन बाँकी नै देखाइएको छ ।

त्यसपछि उनी फोर्डको शो–रुम पुगे । र, दुर्घटनामा क्षति पुगेको गाडीमा फेरिएका सामानको दररेट मागे । त्यस क्रममा गाडीमा लागेको विह्ल रिमको कम्पनी मूल्य २९ हजार ९०० रहेको कोटेशन पाए । जबकी महालक्ष्मीले उक्त सामानको मूल्य ६५ हजार रुपैँया लिएको छ । गाडीको हेड लाइटको मूल्य महालक्ष्मीले ४५ हजार ९८० लिइएको छ, फोर्ड कम्पनीमा त्यसको मूल्य २९ हजार ४०० मात्रै छ । महालक्ष्मीले फग लाइट कभरको मूल्य २४ हजार ५०० लिएको छ, जबकी फोर्ड शो–रुममा ४ हजार ४५३ मात्रै पर्छ । यसरी बजार मूल्य भन्दा दोब्बर बढी मूल्य असुल गरेको देखेपछि अहिले पिक अप धनी साहले कानुनी उपचारमा लागेका छन् ।

अर्को पनि महालक्ष्मीको फल्ड कारोबार देखिएको छ । सुनसरीको इटहरी–४ मा दर्ता गरेको ट्रेडिङ विराटनगर बसपार्क नजिक सञ्चालनमा रहेको छ । यसका सञ्चालक चित्रबहादुर चौहान हुन् । चौहानले इटहरीमा मुख्य कार्यालय रहेपनि विराटनगरमा शाखा रहेको जानकारी दिए । उनले गाडीमा आवश्यक पर्ने सामान तत्काल शो–रुममा नपाउने भएपछि बैंककबाट मगाउनु परेकोले महंगो भएको दावी गरे । सरकारी गाडी थियो, सातदिन भित्र दिनुपर्छ भन्ने दवावका कारण सामान बाहिरबाट मगाउनु परेको हो, चौहानले भने–हामीले रातदिन गरेर गाडी बनाएका हौं ।

यता पीडित बनेका साहले भने सामान बाहिरबाट मगाउनु पर्ने कुरा जानकारी समेत नगराएको गुनासो गरे । त्यसको प्रतिवाद गर्दै चौहानले डबर दस्तुर लाग्छ भनेर जानकारी गराएको बताए । उनले, साहलाई इन्स्यारेन्सले सबै रकम दिन नमानेपछि आफुसँग किचलो झिकेको आरोप लगाए ।

तर, साहले सरकारी गाडीमा कसरी अनियमितता हुन्छ भन्ने कुरा अनुसन्धान गर्न नियमनकारी निकायमा उजुरी दिने बताएका छन् । उनले कार्यालयका कर्मचारी र ग्यारेज सञ्चालकको मिलेमतोमा सरकारी रकम अपचलन हुने गरेको भन्दै आवश्यक अनुसन्धानका लागि वाणिज्य कार्यालय, आन्तरिक राजश्व, राजश्व अनुसन्धान र अख्तियारमा जाने बताएका छन् ।

साहले दुर्घटनापछि बीमा रकम क्लेम गर्न ग्यारेजको बिलले सकेका छैनन् । ग्यारेजले दिएको बिल विश्वसनीय नभएको भन्दै बीमाका सर्भेयरले कम्पनीको दररेटलाई मात्रै मान्यता दिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्