विराटनगर । विराटनगरमा वैदेशिक रोजगार कानुन सम्बन्धी सञ्चारकर्मीलाई एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको छ । ‘मानव अधिकारला लागि जनमञ्च’ (पिपुल फोरम) ले विराटनगरमा शनिबार एक दिने अभिमुखिकरण कार्यक्रम गरेको हो ।

कार्यक्रममा सरोकारवालाहरुले सीप सिकेर जाँदा वैदेशिक रोजगार सुरक्षित र भरपर्दो हुने बताए । नेपालबाट रोजगारमा गएका मध्ये २ प्रतिशत मात्र दक्ष भएर सीप आर्जन गरेर जाने गरेको पिपुल फोरमका प्रमुख अधिवक्ता सोमराज लुइटेलले बताए ।
सिप लिएर गएमा सम्झौंता अनुसारको काम र पारिश्रमिक प्राप्त गर्न सकिने उनले बताए । सीप नसिकी जाँदा रोजगारदाताको अपेक्षा बमोजिम काम नहुँनाले तल्लो दर्जाको काम तथा जोखिमपूर्ण काममा लगाईदिन सक्दछन्, त्यसैले रोजगारमा जानेले सीप सिकेर जान उनले आग्रह गरे ।

आप्रवासी कामदारको सकारात्मक फाइदा धेरै भए पनि नकारात्मक कुराहरू बाहिर आउने भएकाले सामाजिक समस्या आउने सरोकारवाले बताए ।
वैदेशिक रोजगारको भ्रम चिर्नको निम्ति सञ्चारमाध्यमको भूमिका महत्तवूर्ण हुने वैदेशिक रोजगारको विषयमा लामो समयदेखि रिपोर्टिङ गर्दै आएका संचारकर्मी रूद्र खड्काले बताए । उनले सूचना प्रभाव गर्दा सञ्चारकर्मीले अरू बढी संवेदनशीलता अपनाउनु पर्नेमा जोड दिए ।
रोजगारीमा जानेले बढी रकम दिएर कम मूल्यको बिल लिने, प्रमाण नै नष्ट गर्नेजस्ता गतिविधि गर्नाले अन्याय पर्दा क्षतिपूर्ति लिनसमेत कठिन हुने गरेको पिपुल फोरमको फोकन पर्सन तथा अधिवक्ता कला त्रितालले बताइन् ।

पुपुल फोरमले वैदेशिक रोजगारीमा जानपूर्व लिनुपर्ने आवश्यक सूचना प्रदान गर्ने, सिप सिकेर मात्र विदेश जान सुझाउने, भरसक स्वदेशमा नै आयआर्जनको बाटो खोज्न प्रोत्साहित गर्नेसहित मनोसामाजिक परामर्श सेवासमेत दिँदै आएको छ ।
वैदेशिक रोजगारको क्रममा ठगीमा परे पिडितको पक्षबाट पिपुल फोरमले निःशुल्क कानुनी सहायता पनि प्रदान गर्दै आएको छ । सन् २०११ देखि हालसम्म २६ हजार २ सयलाई पिपुल फोरमले निःशुल्क कानुनी सहायता प्रदान गरेको छ । कानुनी सहायता प्रदान गर्दा पीडितलाई ९५ करोड ३२ लाख रुपैयाँ क्षतिपूर्ती पनि प्राप्त गराएको पिपुल फोरमले जनाएको छ ।