महेन्द्र मोरङमा आंशिक प्राध्यापकहरुको अनिश्चितकालिन तालाबन्दी

महेन्द्र मोरङमा आंशिक प्राध्यापकहरुको अनिश्चितकालिन तालाबन्दी

विराटनगर । त्रिभुवन विश्वविद्यालयसँगको सम्झौता कार्यन्वयन नभएको भन्दै विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका आंशिक प्राध्यापकहरुले क्याम्पस प्रशासनमा तालाबन्दी गरेका छन् ।

आंशिक प्राध्यापकहरुको व्यवस्थापन र पारिश्रमिक सम्बन्धमा त्रिविले गरेको सम्झौता कार्यन्वयनमा नभएको भन्दै उनीहरुले अनिश्चितकालका लागि क्याम्पस प्रशासनमा तालाबन्दी गरेका हुन् । आंशिक प्राध्यापकहरुको माग सम्बोधन हुने गरी त्रिविले क्याम्पससँग गरेको ७ बुँदे सम्झौता कार्यन्वयन हुनुपर्ने उनीहरुको माग छ । ‘त्रिविसँग क्याम्पसले सम्झौता गरेको २ वर्ष भयो । तर, हालसम्म उक्त सम्झौता कार्यन्वयन भएको छैन्,’ प्राध्यापक रामकुमार मेहताले भने, ‘बुधबार तालबन्दी गरेका छौं । बिहीबारदेखि पठनपाठन बहिष्कार गर्ने योजना छ ।’

२०७७ पौष २५ गते विश्वविद्यालयले आंशिक प्राध्यापकहरुलाई शिक्षण सहायक सरहको पारिश्रमिक दिने, अतिरिक्त कक्षा व्यवस्थापन निर्देशिका–२०७७ लाई परिमार्जन गर्ने र पदपुर्तिका लागि विज्ञापन गर्ने लगायतका बिषयवस्तु सम्बोधन हुनेगरि क्याम्पससँग ७ बुँदे लिखित सम्झौता गरेको थियो । सम्झौतामा आंशिक प्राध्यापकहरुले उठाएका जायज मागहरु सम्बोधन गरिएको थियो । आन्दोलित प्राध्यापकहरुले सोही सम्झौताका आधारमा आफ्नो आन्दोलनका कार्यक्रम समेत फिर्ता लिएका थिए । तर, क्याम्पस प्रशासनले सम्झौता कार्यन्वयनमा चासो नदेखाएपछि आंशिक प्राध्यापकहरु पुनः आन्दोलित बनेका छन् । ‘क्याम्पसले गरेको सम्झौता कागजमै सिमित भयो,’ प्राध्यापक भबिष्य मिश्राले भने, ‘हामी धेरै पर्खियौं । अब पर्खिदैनौं । हाम्रो माग सम्बोधन नभए आमरण अनशन बस्छौं । तालाबन्दी पनि माग सम्बोधन नहुन्जेल रहन्छ ।’

गतवर्षको असार २० गते पनि क्याम्पस प्रमुख बाबुराम तिमल्सिनाको कार्यकक्षमा तालाबन्दी गर्दै प्राध्यापकहरुले अनलाईन कक्षा समेत स्थगित गरेका थिए । त्यसबेला ३ सुत्रीय माग अघि सार्दै प्राध्यापकहरु क्याम्पसको मुलद्धारमा धर्ना बसेका थिए । हाल उनीहरु क्याम्पसको प्रशासनिक भवन अगाडि रिले अनशन बसेका छन् । एक वर्षमा धर्ना स्थल फेरिएपनि अवस्था भने नफेरिएको उनीहरुको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्