विराटनगरस्थित निगमको डिपोले पेट्रोल भण्डारण क्षमता बढाउँदै

विराटनगरस्थित निगमको डिपोले पेट्रोल भण्डारण क्षमता बढाउँदै

विराटनगर । नेपाल आयल निगम प्रादेशिक कार्यालय विराटनगरले पेट्रोल भण्डारणको क्षमता बढाउने भएको छ । निगम परिसरमा रहेका मट्टीतेल भण्डारण गर्ने ट्याङ्कीलाई पेट्रोल ट्याङ्कमा रुपान्तरण गरिने भएको हो ।

नेपाल आयल निगम प्रादेशिक कार्यालयका प्रमुख अशोध शाहले मट्टीतेलको माग र आपूर्ति घट्दै गएपछि त्यसको सट्टामा पेट्रोल भण्डारण गरिने जानकारी दिनुभयो । मट्टीतेल भण्डारणका तीनवटा ट्याङ्क निगम परिसरमा थिए । त्यसमध्ये ७५० किलोलिटर (केएल) र ७१० किलोलिटर (केएल)का ट्याङ्कमा अब पेट्रोल राखिने भएको छ ।
कार्तिकसम्ममा यसको मर्मत सकेर पेट्रोल भण्डारण क्षमता बृद्धि गर्ने लक्ष्य छ, प्रमुख शाहले भन्नुभयो–दुईवटा भर्टीकल –जमिन माथी) ट्याङ्कको मर्मतका लागि गोपीगंगा एनसी जेभी काठमाण्डौंले काम गर्नेछ । यसको मर्मतका लागि ९२ लाख रुपिँयामा ठेक्का सम्झौता भएको छ । सम्झौता अनुसार ट्याङकको भित्री काम सकिएको छ । पाइप लाइनको मोडिफिकेशन सकेपछि लोड र अनलोडका लागि आवश्यक संरचना तयार पारेर कार्तिकसम्ममा भण्डारण गर्नसक्ने बनाईने छ ।

विराटनगरस्थित निगमको प्रादेशिक कार्यालयको डिपोमा हाल ७० केएल क्षमताका ८ वटा भूमिगत ट्याङ्कमा ५६० केएल पेट्रोल रहँदै आएको थियो । प्रदेश नम्बर १ का लागि यो ३६ घण्टाको खपत हो । दुईवटा ट्याङ्क थप गरिएपछि दशवटामा एकहजार ९०० केएल पेट्रोल भण्डारण हुनेछ । यसले प्रदेशको चार दिनको माग धान्ने छ ।

यसैगरी निगममा छवटा डिजेलका ट्याङ्क छन् । जसमध्ये चारवटामा एकहजार ६०० केएल र एउटामा ७५० केएल डिजल भण्डारण हुँदै आएको शाहले जानकारी दिनुभयो । अहिलेको क्षमतामा डिजेलले ८ दिनको माग धान्दै आएको छ । एक हजार ८०० केएल क्षमताको एउटा ट्याङ्क कामबिहीन छ । यो २०४५ सालमा आएको भूकम्पले क्षतिग्रस्त बनेको थियो । निगमले ७५० केएल क्षमताको एउटा ट्याङकमा मट्टीतेल भण्डारण गर्नेछ ।

कार्यालयका प्रमुख शाहले माग अनुसारको आपूर्ति व्यवस्थापन गर्नुपर्ने भएकोले मट्टीतेलको परिमाण घटाएर पेट्रोलको बढाउने तयारी गरिएको बताउनुभयो । मट्टीतेल राख्ने भर्टिकल (जमिनमाथि) का ट्याङ्कमा पेट्रोल राखिने भएकोले सुरक्षा संवेदनशीलतालाई समेत ध्यानमा राखेर यसको मर्मत र मोडिफिकेशन गरिने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्