प्रजातान्त्रिक विचार समाजको नयाँ कार्यसमिति चयन

प्रजातान्त्रिक विचार समाजको नयाँ कार्यसमिति चयन

विराटनगर । प्रजातान्त्रिक विचार समाज मोरङको अध्यक्षमा वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी चयन भएका छन् । समाजको शनिबार विराटनगरमा सम्पन्न १३ औं जिल्ला अधिवेशनले सुवेदीको अध्यक्षतामा १८ सदस्यीय कार्य समिति निर्विरोध चयन गरेको हो ।

विराटनगर महानगरपालिकाका प्रमुखसमेत रहेका नेपाली कांग्रेस मोरङका उपसभापति नागेश कोइरालाको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले उपाध्यक्षमा रमानाथ भट्टराई, सचिवमा डिकप्रसाद घिमिरे, सहसचिवमा डिल्लीबहादुर कार्की र कोषाध्यक्षमा दिनेश सिटौला चयन गरेको छ ।
त्यसैगरी प्रा.डा. संजेश कोइराला, प्राध्यापक दिनेश सुवेदी, अधिवक्ता पुनमकुमार गुप्ता, विष्णुकान्त झा, इन्जिनियर भरत न्यौपाने, अनन्तराम चौधरी, डा. जीवन ढकाल, प्रा. इन्दिरा प्रसाईं, शिक्षक निर्मला कोइराला, कवि एवं पत्रकार मीनकुमार नवोदित, पत्रकार अभयकुमार राई, शिक्षक शैलेन्द्र नेपाल र सन्तोष पोखरेल सदस्यमा सर्वसम्मतबाट निर्वाचित भएका छन् ।

अधिवेशनले डा. मदन कोइराला, वरिष्ठ अधिवक्ता भरतबहादुर थापा, ट्रेड युनियन कांग्रेस प्रदेश–१ का अध्यक्ष नारायणबाबु कार्की, प्रा.डा. बलराम पोखरेल, डा. भेषप्रसाद धमला, प्रा. कविराज न्यौपाने र डिल्ली पोखरेललाई समितिको सल्लाहकारमा चयन गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कोइरालाले समाजमा सबै क्षेत्रका बौद्धिक व्यक्तिहरू आबद्ध भएकाले मुलुकको विकास, समृद्धिका पक्षमा वकालत गर्न आग्रह गरे । “समाजमा सुशासन, विधिको शासन, देशको आर्थिक विकास र समृद्धिको पक्षमा तपाईंहरूले आ–आफ्नो ठाउँबाट आवाज उठाउनुहोस्,” कोइरालाले भने, “आफूले अवसर पाए सबै ठीक नपाए बेठीक भन्ने प्रवृत्तिको विकास हुँदै गएको छ ।”

समाजका प्रदेश–१ अध्यक्ष बद्री तामाङ, नेपाली कांग्रेस विराटनगर महानगर सभापति दीपक चापागाईं, सल्लाहकार मदन कोइराला, सुनसरी अध्यक्ष यमनाथ बराललगायतले शुभकामना मन्तव्य व्यक्त गरे । उनीहरूले सुशासन, मानवअधिकार र विधिको शासनका पक्षमा आ–आफ्नो ठाउँबाट आवाज उठाउन आग्रह गरेका थिए । २०५२ सालमा स्थापित समाजमा साहित्यकार, पत्रकार, प्राध्यापक, डाक्टर, इन्जिनियर, वकिल, शिक्षकलगायत आबद्ध छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्