चुनावको प्रतिवद्धता बिर्सिएर गाडी प्रयोग गर्दै विराटनगरका मेयर कोइराला

चुनावको प्रतिवद्धता बिर्सिएर गाडी प्रयोग गर्दै विराटनगरका मेयर कोइराला

विराटनगर । विराटनगरका प्रमुख नागेश कोइरालाले सरकारी गाडी प्रयोग गर्ने भएका छन् । स्थानीय तह निर्वाचनमा आफ्नै गाडी चढेर पाँचवर्षे कार्यकाल बिताउने प्रतिवद्धता जाहेर गरेका मेयर कोइरालाले इन्धनको रकम बेरुजु निस्कने भन्दै सरकारी गाडी चढ्ने बताएका हुन् ।
कोइरालाको सचिवालयले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक सूचना जारी गर्दै अफ्ठ्यारो अवस्था आउने भएकोले सरकारी गाडी चढ्नु पर्ने बाध्यता भएको दावी गरेको छ । करिब तीन महिना निजी गाडी प्रयोग गरेको र निजी गाडीमा महानगरबाट प्राप्त हुने तेल प्रयोग गर्दा बेरुजु देखिने उल्लेख गरिएको छ ।

यसअघि प्रमुखले चढेको गाडी लामो समय नचलाउँदा प्राविधिक समस्या आउने र पछि त्यसको मर्मत गर्दा महानगरकै ठूलो रकम खर्च हुने दावी गर्दै पन्छिने मनसाय समेत राखिएको छ । मेयर कोइरालाले भने आफूले गाडी नचढ्ने भनेर कहिंपनि नभनेको बताएका छन् । उनले यदि कसैले आफूले गाडी नचढ्ने भनेको प्रमाण लिएर आए पुनः छोड्ने दावी गरेका छन् । ‘मैले भनेको प्रमाण लिएर आए गाडी मात्रै हैन पाँचवर्ष तेलपनि प्रयोग गर्दिन’ कोइरालाले भने–सरकारी कामकाजमा पर्ने असजिलो फुकाउन गाडी चढ्नु परेको हो ।

महानगरका जनप्रतिनिधि, कर्मचारी, प्राविधिक र शुभेच्छुकबाट समेत महानगरकै गाडी प्रयोग गर्न सुझाव दिएको जारी सूचनामा उल्लेख छ । नगर प्रमुखले सरकारी गाडी चढ्नु विषय समान्य भएपनि निर्वाचनको बेला नागरिकबीचमा जाहेर प्रतिवद्धता भने बिर्सिने परम्परा मेयर कोइरालाले दोहो¥याएका छन् । सामान्य विषय भएपनि पारदर्शी हुनुपर्छ भन्ने लागेकोले सूचना जारी गरेर जानकारी गराएको फेसबुक पेजमा लेखिएको छ ।

पहिलो स्थानीय तह निर्वाचनमा निर्वाचित भीम पराजुलीले समेत सुरक्षा गार्ड नलिने प्रतिवद्धता जाहेर गरेका थिए । तर, पछि विभिन्न घटनाक्रमले लिनुपर्ने अवस्था आएको भन्दै पुनः सुरक्षा गार्ड लिइएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्