विराटनगर । सुरक्षाको कारण देखाउँदै यस पटकको रथ यात्रा नगरिने भनिदै आएकोमा आयोजक कमिटीले भने गर्ने निर्णय गरेको छ ।
वि.स. १९८८ सालमा ‘खट’ यात्राको रुपमा सुरु गरेर २०२५ सालदेखि रथयात्रा विराटनगरमा निकालिदैं आइएको थियो । खट यात्रासहित ९१ औं र खटबाट रथयात्रामा रुपान्तरणपछिको ५४ औं संस्करण आगामी भदौ ४ गते निकालिने भएको छ ।सुरक्षा अभावको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालय मोरङ र राधाकृष्ण मन्दिर व्यवस्थापन समितिले यो वर्ष विधी र परम्परालाई धान्ने गरि मात्र रथयात्रा निकाल्ने निर्णय गरेको थियो । कोरोनाका कारण रथयात्राको ५२ र ५३ औं संस्करण समेत विधी धान्न मात्रै निकालिइएको थियो । ५४ औं संस्करणका लागि रथयात्रा पहिलेको भन्दा कम मात्रामा झाकी उपस्थित गराएर यसपटकको रथ यात्रा निकालिने व्यावस्थापन समिति सदस्य बाबुराजा ओझाले आवर विराटनगरलाई जानकारी दिए ।
व्यावस्थापन समितिले सोमबार मुख्यमन्त्री राजेन्द्र प्रसाद राईलाई नै भेटेर रथयात्रा निकाल्ने बाताबरण मिलाउन आग्रह गरेको थियो । मुख्यमन्त्री राईको तर्फबाट सकारत्मक कुरा आएपछि आयोजक कमिटिले यस पटकको रथयात्रा गर्ने निर्णय गरेको छ । यसपटक देखी भने रथयात्राको बाटो रोडशेषसम्म पुर्याईने बाबुराजा ओझाले जानकारी दिए । हिमालय रोडलाई सौन्दर्यकरण बनाएका कारण बाटो अवरोध भएका कारण ट्राफिक चौकदेखी रोडशेषबाट घुमाएर पहिले कै जस्तो रथ घुमाईने छ ।
राधाकृष्णको मूल रथ प्यागोडा शैलीको छ । यो मूल रथको लम्बाई २२ फिट, चौडाई १४ र उचाइ १८ फिट छ । रथको अग्रभाग जुवामा बाँधेको ७५ फिट लम्बाइको दायाँ र बायाँ पट्टि फैलिएको डोरी राखिने गरिएको थियो । दायाँबाट पुरुष र बाँयातर्फ महिला प्रहरीले डोरी समाएर रथ तान्ने गरेका छन् । रथमा राधाकृष्णलाई रथारोहण गराएर महानगरको परिक्रममा गराउने गरिएको छ । त्यस बाहेक सुरक्षाका लागि आवश्यक प्रहरी स्थानीय प्रशासनले परिचालन गर्दै आएको थियो ।