उच्च अदालत विराटनगरमा दुईवर्ष नाघेका मुद्दा शून्य

उच्च अदालत विराटनगरमा दुईवर्ष नाघेका मुद्दा शून्य

विराटनगर । उच्च अदालत विराटनगरले अघिल्लो आर्थिक वर्षमा दुई वर्ष नाघेका मुद्दाको संख्या शून्यमा झारेको छ । मुद्दाको संख्या उच्च रहेका मुलुकभरका सातवटा उच्च अदालतहरू मध्ये विराटनगरले आर्थिक वर्ष २०७७÷०७८ बाटै जिम्मेवारी सरेर आएका दुई वर्षको समय नाघ्‍ने ५६६ वटा मुद्दालाई गत आर्थिक वर्ष २०७८÷०७९ मा फर्छ्यौट गरेको हो ।

उच्च अदालत विराटनगरले मंगलबार सञ्चारकर्मीसँग आयोजित अन्तरक्रिया कार्यक्रममा कार्यक्रममा अदालतका रजिष्ट्रार जितेन्द्रबाबु थपलियाले आव २०७८÷७९ मा जिम्मेवारी सरेर आएका एक हजार ५५३ र नयाँ दर्ता भएका ३ हजार ४४९ गरी ५ हजार २ वटा मुद्दाहरु मध्ये ६० दशमलव ४५ प्रतिशत मुद्दा फर्छ्यौट गरिएको जानकारी गराए । उनले दुई वर्ष नाघेका मुद्दा मात्रै नभई कूल मुद्दा फर्छ्यौटमा समेत उच्च अदालत विराटनगरले सबैभन्दा धेरै ६० प्रतिशत प्रगति हासिल गरेको जानकारी दिए ।

तत्कालीन मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठले ‘उच्च अदालत कस्तो, विराटनगर जस्तो’ भन्ने नाराका साथ सुरु गरेको अदालत सुधार अभियान अन्तरगत उच्च अदालत विराटनगरले आव २०७८÷७९ मा दुई वर्ष नाघेका मुद्दाको संख्या शून्य बनाउन सफल भएको हो । तत्कालीन मुख्य न्यायाधीश श्रेष्ठ पाँच महिनाअघि सर्वोच्चको न्यायाधीशमा भएका छन् ।
उनले आर्थिक वर्ष २०७७÷७८ मा एक्लैले ७०३ वटा मुद्दाको फैसला गरेर मुलुकभरका उच्च अदालत र त्यस अन्तर्गतका इजलासमा कार्यरत न्यायाधीशहरू मध्ये सबैभन्दा बढी मुद्दा फैसला गर्ने रेकर्ड बनाएका थिए । सोही आर्थिक वर्षदेखि उच्च अदालत विराटनगरमा दुई वर्ष नाघेका मुद्दाको संख्या शून्यमा झारिएको थियो ।

अघिल्लो आवमा उच्च अदालत विराटनगरमा रहेका कूल ५ हजार २ वटा मुद्दाहरु मध्ये मुख्य न्यायाधीश श्रेष्ठ एक्लैले सबैभन्दा बढी ७३२ वटा मुद्दा फैसला गरेका छन् । त्यसपछि सबैभन्दा धेरै न्यायाधीश मिलनकुमार राईले ६७२, न्यायाधीश मुरारी बाबु श्रेष्ठले ६३५ र न्यायाधीश कृष्ण कमल अधिकारीले ५६९ वटा मुद्दाको फैसला गरेका छन् ।
उच्च अदालत विराटनगरका कामु मुख्य न्यायाधीश सत्यमोहन जोशी थारुले १२ जना न्यायाधीश रहनुपर्ने भएपनि हाल ९ जना न्यायाधीशहरूबाटै विराटनगर उच्च अदालतलाई मुद्दा फर्छ्योटमा नमुनाका रुपमा प्रगति हासिल गरेको बताएका छन् ।
कार्यक्रममा उच्च अदालत विराटनगरका न्यायाधीश रामबहादुर थापाले अदालतप्रतिको आस्था टिकाइराख्‍ने कुरामा सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण रहेको बताएका थिए ।

न्यायाधीश थापाले चालू आर्थिक वर्षमा करिब ५ हजार १०० वटा मुद्दा आउन सक्ने अनुमानका आधारमा त्यसको ६५ प्रतिशत मुद्दालाई फर्छ्यौट गर्ने लक्ष्य निर्धारण गरिएको बताए । जसमध्ये चालू आवको साउन २९ गतेसम्म कायम रहेका २ हजार २८७ वटा मुद्दाहरू मध्ये ५ प्रतिशत अर्थात ११५ वटा मुद्दा फर्छ्यौट गरिसकेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्