काठमाडौं । सरकारले भदौ १ गतेबाट ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात, बिक्रीवितरण र प्रयोगमा रोक लगाएको छ । त्यस्ता झोला प्रयोग गरेको देखे वा जानकारी भए स्थानीय सरकारले उत्पादन र बिक्री गर्नेमाथि तत्काल कारबाही गर्ने बताइएको छ ।
वातावरण विभागले ४० माइक्रोनभन्दा पातलो झोला उत्पादन गरे वा नगरेको विषयमा आजैबाट प्लाष्टिकका झोला उत्पादन गर्ने उद्योगको अनुगमन शुरू गर्ने भएको छ । वन तथा वातावरण मन्त्रालय र वन विभागले प्रतिबन्धसम्बन्धी नियम भदौ १ अर्थात् आजबाट लागु गर्ने गरी सूचना जारी गरेको थियो । यसअघि २०७२ सालको वैशाख १ गतेदेखि लागु हुनेगरी उक्त नियम बनाएको थियो । तर, त्यही महिना जनधनको ठूलो क्षति पुर्याउने गरी गएको भूकम्पको कारण कार्यान्वयन हुन सकेको थिएन । मन्त्रालयले पहिलो चरणमा झोला उत्पादन गर्ने कम्पनी अनुगमन गर्ने छ । त्यसपछि धेरै प्रयोग हुने क्षेत्रहरूमा सघन अनुगमन गर्ने र अनुगमनको क्रममा ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोला बिक्री र प्रयोग गरेको भेटिए प्रहरी परिचालन गरी तत्काल कारबाही गरिने मन्त्रालय र विभागले जनाएको छ।
गत वर्ष साउन २८ मा सर्वोच्च अदालतले ४० माइक्रोनभन्दा कमका प्लास्टिक प्रतिबन्ध लगाउन अन्तरिम आदेश दिए लगत्तै मन्त्रालयले सो सम्बन्धी निर्णय गरी कार्यविधि तयार गरेको थियो । सोही निर्णयलाई कार्यान्वयन गर्न सरकारले ४० माइक्रोनभन्दा पातलो झोलामा आजबाट प्रतिबन्ध लगाएको हो ।
फोटो:फाइल