विराटनगर । अबको ३ दिनपछि विराटनगरमा निकालिने रथ यात्राको लागी रथको मर्मत तथा साजसज्जाको काम अहिले धमाधम भईरहेको छ । कोरोना भाइरसको कारण यस पटकको रथयात्रा हुने की नहुने भनेर दोधारमा भईरहेको बेला विराटनगरवासीको चौतर्फी विरोध र दबाव कारण अन्तत प्रसाशनले सहयोग गर्ने भएपछि रथयात्राको तयारी धमाधम भईरहेको छ ।
रथयात्रा व्यावस्थापन समितिले अहिले रथको मर्मत तथा सम्भारको काम पनि गरिरहेको छ । रथको सफाई र मर्मत मंगलबारदेखि शुरू गरिएको छ । रथको चारै चक्काको वायल ब्रेक, मास्टर सिलिण्डर, व्हील सिलिण्डर र ग्रीजिङ्गको काम तिव्रताका साथ शुरू गरिएको रथ प्राविधिक संयोजक दीपक प्रधानले जानकारी दिए । यसपटक समय थोरै रहेका रङ्गरोगन भने नगरिने भएको छ । रथमा फूल सज्जा र रथ श्रृंगारलाई भने सुरु गरिएको प्रधानले जानकारी दिए।
यी ठाँउहरुमा रोकिने छ रथयात्रा
भदौ ४ गते शनिबार राधाकृष्ण सवार रथयात्रा पानीटंकीस्थित राधाकृष्ण मन्दिरबाट प्रारम्भ भई तीनपैनी चोक, शंकरपुर मोड, विराटेश्वर शिव मन्दिर, गोल्छा चोक, सत्यनारायण मन्दिर, जैन भवन, जलजला चोक, बाटा गल्ली चोक, पञ्चमुखी हनुमान मन्दिर, ट्राफिक चोक, भूमी प्रशासन चोक, रोडशेष , बस पार्क, महेन्द्र चोक, सरोचिया चोकमा विश्राम लिने छ । सो स्थानपछि रथयात्राले महावीर रोड चोक, शनिमन्दिर चोक, शिव मन्दिर चोक, भृकुटी चोक, विराट अस्पताल चोक, मुनालपथ चोक, बरगाछी चोक, बासुकीनाथ मन्दिर मोड, दुर्गा चोक परिक्रमा गर्दै पुनः मन्दिरमा टुंगिने रथयात्रा समारोह समिति संयोजक कलाश रेग्मीले जानकारी दिए ।
को को छन् समितिको संयोजकमा
मन्दिरको कार्यसमिति र व्यवस्थापन समितिको संयुक्त बैठकले वाधारहित रथयात्रा संचालनका लागि विभिन्न विधामा संयोजक तोकेको छ । स्वयंसेवकमा सन्तोष महत सेन्ट्रो, रथ संचालन सुरेश जायसवाल, प्राथमिक उपचार मीना जोशी, ब्राह्मण व्यवस्थामा पं.भवानीशंकर निरौला, रथ प्राविधिकमा दीपक प्रधान, प्रसाद व्यवस्था जय शर्मा, पीउने पानी प्रवन्धमा सुनिलकुमार साह, रथ शृङ्गार आनन्द जाजु, फोहर व्यवस्थापनमा जय देवकोटा र नगर शृङ्गारमा ओमप्रकाश राठीलाई संयोजक तोकेको छ ।
रथयात्रा संचालन गर्नको लागि मंगबालर मन्दिर कार्यसमितिका अध्यक्ष कैलाश रेग्मी, सचिव कपिल भण्डारी, सदस्य कृष्ण कार्की, पूर्वअध्यक्ष बाबुराजा ओझा विराटनगर महानगरपालिकाका पूर्वमेयर भीम पराजुली र प्रशासनको तर्फबाट मोरङका प्रजिअ काशिराज दाहाल, मोरङ प्रहरी प्रमुख शान्तिराज कोइरालाको सहभागितामा रथयात्रा संचालन गर्नेबारे छलफल भएको थियो ।
विराटनगर महानगरपालिका वार्ड नं १ स्थित श्रीराधाकृष्ण मन्दिर परिसरबाट वि.सं. १९८८ साल देखि युगल जोडी भगवान श्रीराधाकृष्ण आरूह ‘खट यात्राबाट प्रारम्भ भएको ऐतिहासिक जात्रा वि.सं. २०२५ सालवाट भव्य एवम् विशाल रथको निर्माण गरि निरन्तर रथयात्रा महोत्सव सञ्चालन हुँदै आएको थियो ।
कोरोनाका कारण रथयात्राको ५२ र ५३ औं संस्करण समेत विधी धान्न मात्रै निकालिइएको थियो । तर ५४ औं संस्करणका लागि रथयात्रा पहिलेको भन्दा कम मात्रामा झाकी उपस्थित गराएर यसपटकको रथ यात्रा निकालिने राधाकृष्ण मन्दिर समितिका अध्यक्ष तथा रथयात्रा समारोह समितीका संयोजक कैलाश रेग्मीले जानकारी दिएका छन् ।